इन्फिनिक्सले नेपालमा ल्यायो हट ६० प्रो सिरिज

काठमाडौं । अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत दुई शक्तिशाली स्मार्टफोन हट ६० प्रो प्लस र हट ६० प्रो उपलब्ध भएको हो । आधुनिक डिजाइन, दमदार प्रदर्शन र नवीनतम सुविधासहित यी फोनहरूले नेपाली बजारको मध्यस्तरीय स्मार्टफोन सेग्मेन्टलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।

हट ६० प्रो प्लस नेपालमा यस श्रेणीको सबैभन्दा पातलो फोनका रूपमा प्रस्तुत गरिएको छ । मात्र ५.९५ मिलिमिटर मोटाइ र १५५ ग्राम तौल भएको यो फोनमा ५१६० एमएएच क्षमताको ब्याट्री ४५ वाट फास्ट चार्जसहित राखिएको छ ।

जसले लामो समयसम्म पावर प्रदान गर्छ । यसमा १.५के १४४ हर्ज कन्भर्ड एएमओएलईडी पर्दा, मेडियाटेक हेलियो जी २०० प्रोसेसर, ५० मेगापिक्सेल सोनी आईएमएक्स ८८२ क्यामेरा, १६ जीबीसम्मको र्‍याम (८+८ विस्तारित) र १२८ जीबी भण्डारण क्षमता जस्ता विशेषता रहेका छन् । यो मोडेलको मूल्य २६ हजार ९९९ तोकिएको छ ।

त्यसैगरी, हट ६० प्रो विशेष गरी खेल (गेमिङ)का लागि बनाइएको स्मार्टफोन हो । ६.६ मिलिमिटर पातलो डिजाइन र १७० ग्राम तौल रहेको यस फोनमा १४४ हर्ज एएमओएलईडी पर्दा, ५१६० एमएएच क्षमताको ब्याट्री, ४५ वाट फास्ट चार्ज सुविधा तथा भरपर्दो प्रोसेसिङ क्षमता रहेको छ । यसमा आठ जीबी र्‍याम र १२८ जीबी भण्डारण क्षमता दिइएको छ । यसको मूल्य २० हजार ९९९ तोकिएको छ ।

यी दुवै मोडेलहरू नेपालभर विभिन्न आकर्षक रङमा उपलब्ध छन् । उत्कृष्ट डिजाइन र शक्तिशाली प्रविधिलाई किफायती मूल्यमा प्रस्तुत गर्दै हट ६० प्रो सिरिजले नेपाली स्मार्टफोन बजारमा नयाँस्तर स्थापित गरेको छ ।

इन्फिनिक्स मोबिलिटी सन् २०१३ मा सुरु भएको एक अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड हो । यस ब्रान्डले आकर्षक डिजाइन, भरपर्दो प्रदर्शन र सहज मूल्यलाई आफ्नो पहिचान बनाएको छ । हाल इन्फिनिक्स ७० भन्दा बढी मुलुकमा उपलब्ध छ र आधुनिक प्रयोगकर्ताको जीवनशैलीसँग मेल खाने नवीनतम उत्पादनहरू निरन्तर बजारमा ल्याइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप