काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्ला केही दिनयता लगातार उकालो लागिरहेको सुनको भाउ आज सोमबार नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको कारोबार २ लाख ५ हजार ३ सय रुपैयाँमा भएको छ । यो मूल्य नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च हो ।
गत शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आइतबार पुनः ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले बढेर २४७० रुपैयाँमा कारोबार भएको छ ।
दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले उपभोक्ता र व्यवसायी दुवैलाई चिन्तित बनाएको छ । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउमा आएको यो उछालले बजारमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।




