रिलायवल नेपाल लाइफ नवौं वर्षमा प्रवेश, ७० लाख बीमितलाई आभार व्यक्त

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव मनाउँदै नवौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीले करिब ७० लाख बीमित, नियामक निकाय, रिलायवल एडभाइजर, शेयरधनी, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालालाई निरन्तर विश्वास र सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ।

कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ। यससंगै नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा गर्दै कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड पुगेको छ। त्यस्तै, कुल लगानी करिब २० अर्ब पुगेको छ भने बीमालेख धारकलाई १ अर्ब ४३ करोड बराबरको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट सुरु भई मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः ज्ञानेश्वरमै टुंगिने गरी बीमा जागरणसहितको प्रभातफेरी आयोजना गरिएको थियो। यसैगरी, विभिन्न शाखाहरूले रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक तथा खाद्यान्न सामग्री वितरण लगायतका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेका छन्।

महेन्द्रनगर, धनकुटा, लहान र भैरहवामा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दर बजार र मिर्चैयामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा र इलाममा विद्यालय तथा वृद्धाश्रममा सामग्री वितरणसहितका कार्यक्रम गरी आठौं वार्षिकोत्सव भव्य रूपमा मनाइएको हो।

कम्पनीले भविष्यमा अझ ग्राहकमैत्री, सेवा–मुखी र उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता जनाउँदै सबै सरोकारवालासँग निरन्तर साथ र विश्वासको अपेक्षा गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री