काठमाडौं । पछिल्ला दिनमा सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक स्थलहरूमा ‘डेभिल्स’ पोशाकसहित देखिएको प्रचारबारेको रहस्य खुलेको छ। नेपालकै सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता कम्पनी एशियन थाई फुड्सले राजधानीको हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ औपचारिक रूपमा सार्वजनिक गरेको हो। कम्पनीले यसलाई “साहसीका लागि स्वादको चुनौती” को रूपमा प्रस्तुत गरेको छ।
नेपाली बजारमा करिब २५ वर्षअघि ‘रमपम चाउचाउ’मार्फत उपभोक्ताको मन जित्न सफल एशियन थाई फुड्सले अहिले पनि त्यही रणनीति दोहोर्याएको देखिन्छ। त्यतिबेला रमपमलाई लोकप्रिय बनाउन कम्पनीले हरेक प्याकमा ‘चकलेट’ राखेको थियो, जसले उत्पादनलाई प्रतिस्पर्धात्मक बजारमा छुट्टै पहिचान दिन सफल भएको थियो। अहिले ‘डेभिल्स’को प्याकमा समेत यस्तै रणनीति अपनाइएकाे छ—पिरो स्वादसँगै गुलियो चकलेट वेफर।
कम्पनीका प्रतिनिधिहरूका अनुसार, उपभोक्ताले पिरो चाउचाउ खाँदा गुलियो स्वाद खोज्न बाहिर धाउन नपरोस् भन्ने सोचका साथ यो नयाँ प्रयोग गरिएको हो। यसरी एकैपटक दुई विपरीत स्वाद अनुभव गर्ने रणनीतिले उपभोक्तालाई नयाँ अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ। तर, २५ वर्षअघिको रमपम जस्तै यो प्रयासले बजारमा कत्तिको सफल परिणाम ल्याउँछ भन्ने भने अहिले नै भन्न सकिने अवस्था छैन।
नेपालमा पिरो नुडल्सको माग बढिरहेको बेला बजारमा ‘डेभिल्स’ ल्याइएको छ। कम्पनीले यसको खुद्रा मूल्य प्रतिप्याकेट ५० रुपैयाँ तोकेको छ भने ५ प्याकको फ्यामिली प्याक २५० रुपैयाँ मा उपलब्ध हुनेछ। यो उत्पादन भाटभटेनी सुपरमार्केटलगायत प्रमुख खुद्रा पसलहरूमा तथा अनलाइन प्लेटफर्म ‘दराज’ मार्फत पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
एशियन थाई फुड्सले विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली बजारमा मात्र होइन, निर्यात बजारमा पनि आफ्नो प्रभाव जमाएको छ। रमपम चाउचाउलाई देश–विदेशमा परिचित गराउन सफल यो कम्पनीले अहिले फेरि नयाँ ब्रान्डमार्फत उपभोक्ताको मन जित्ने रणनीति अपनाएको छ।
तर, बजारमा चाउचाउ र नुडल्स उत्पादनको प्रतिस्पर्धा निकै कडा छ। प्रायः सबै ठूला ब्रान्डहरूले आफ्ना उत्पादनलाई फरक बनाउन विभिन्न प्रचारप्रसार तथा प्याकेजिङ रणनीति प्रयोग गर्दै आएका छन्। यसैबीच, ‘डेभिल्स’ले लिएको नयाँ रणनीति बजार कब्जा गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ। रमपमको सफलताको इतिहास दोहोरिन्छ वा नयाँ स्वादको भीडमा हराउँछ भन्ने कुरा उपभोक्ताको प्रतिक्रिया र बजारको व्यवहारले मात्र प्रमाणित गर्नेछ।




