लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन, प्रदेशले एक जुझारु नेतृ गुमायो

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी जुझारु सदस्य तथा नेकपा एमालेकी समानुपातिक सांसद सरिता पुन मगरको उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको छ । पूर्वी रुकुमबाट निर्वाचित ३६ वर्षीया पुनको निधनले लुम्बिनी प्रदेशले एक सक्रिय र सम्भावना बोकेकी नेतृ गुमाएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पुनको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको पुष्टि गरे । एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काका अनुसार, पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो ।

तकसेरा, पूर्वी रुकुम निवासी पुनको एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो शल्यक्रियामार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । सफल शल्यक्रियापछि पनि स्वास्थ्यमा अपेक्षित सुधार आएको थिएन ।

विसं २०४४ सालमा पूर्वी रुकुममा जन्मनुभएकी सरिता पुन मगर लुम्बिनी प्रदेशसभामा अर्थ, पर्यटन तथा विकास समिति सदस्यका रूपमा सक्रिय थिइन् । उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रदेशसभाले एक इमान्दार र जनपक्षीय नेतृ गुमाएको भन्दै उनको योगदानको स्मरण गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री