काठमाडाैं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ ।
चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बतए । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । जसअनुसार यस वर्ष नयाँ बर्तालुले व्रत गर्न सक्छन् ।
कन्या राशिमा सूर्य गएपछि अर्थात असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।




