दसैं आयो ! भदौ २९ देखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । नेपालीहरूको महान् चाड दसैंका लागि नयाँ तथा सुकिला नोटहरू भदौ २९ गतेदेखि साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सर्वसाधारणका लागि नोट सटहीको व्यवस्था मिलाएको जानकारी दिएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट सटहीको व्यवस्था गरिएको छ । सर्वसाधारणले राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालयका साथै विभिन्न प्रदेश कार्यालयहरूबाट नोट साट्न सक्नेछन् । ती कार्यालयहरूमा विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी समावेश छन् ।

यसका अतिरिक्त, इजाजतप्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट पनि सर्वसाधारण तथा विभिन्न संघ/संस्थाहरूले कारोबार समयमा नयाँ नोट सटही गर्न सक्नेछन् । यस व्यवस्थाले दसैंको समयमा नयाँ नोटको आवश्यकता पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यस वर्ष असोज १६ गते विजया दशमी परेको छ भने घटस्थापना असोज ६ गतेबाट सुरु हुँदैछ । दसैंमा नयाँ नोट साट्ने प्रचलन परम्परागत रूपमा रहिआएको छ । यसले चाडपर्वको रौनक बढाउनुका साथै टिका लगाउँदा मान्यजनबाट आशीर्वादस्वरूप नयाँ नोट प्राप्त गर्ने परम्परालाई निरन्तरता दिन्छ । राष्ट्र बैंकले चाडपर्वको समयमा बजारमा नयाँ नोटको उपलब्धता सुनिश्चित गर्न यो व्यवस्था मिलाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री