मन्थली । रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका वडा नम्बर २, कठजोरमा अवस्थित श्री नीलकण्ठेश्वर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज र काठमाडौँ रामेछाप सृजनशील समाजको संयुक्त तत्वावधानमा एक भव्य कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । विद्यालयको शैक्षिक प्रगतिको सम्मान र पूर्व शिक्षकहरूको योगदानको कदरस्वरूप आयोजित यस कार्यक्रमले शैक्षिक क्षेत्रमा प्रेरणा र उत्साह थप्यो ।
कार्यक्रमको प्रमुख आतिथ्यता मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले गरे भने पूर्व विद्यार्थी समाजका अध्यक्ष घननारायण श्रेष्ठ (घनश्याम) ले कार्यक्रमको सभाध्यक्षता गरे । कार्यक्रममा नीलकण्ठेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो । यसका साथै, लामो समयसम्म विद्यालयको सेवामा समर्पित भई हालै सेवा निवृत्त भएका भाषा पाठशालाका पण्डित एवं रामेछाप जिल्लाकै शिक्षाका धरोहर गुन्जबहादुर श्रेष्ठ, पूर्व प्रधानाध्यापकहरू रामचन्द्र अधिकारी, धनलाल श्रेष्ठ, विश्वनाथ अधिकारी र मिनबहादुर तामाङलाई पूर्व विद्यार्थी समाजको तर्फबाट दोसल्ला ओढाएर नगरप्रमुख लव श्रेष्ठ र समाजका अध्यक्षद्वारा विशेष सम्मान गरियो ।
यसैगरी, वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने तीनजना तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने एकजना गरी चारजना विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कृत गरियो । सृजनशील समाजको कार्यक्रमलाई विशेष आर्थिक सहयोग पुर्याउने शालिग्राम सुवेदी र वडा नम्बर २ का ७ जना सफल उद्यमीहरू प्रेमकुमार अधिकारी, प्रदीप अधिकारी, रामनारायण श्रेष्ठ, रमेश अधिकारी, केदार अधिकारी, मैया लक्ष्मी श्रेष्ठ र बुद्धमाया श्रेष्ठहरूलाई सृजनशील समाजको तर्फबाट सम्मानपत्र प्रदान गरिएकाे छ ।
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की, शिक्षाविद् गुञ्जबहादुर श्रेष्ठ, डाक्टर सुमन कर्मचार्य र कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे। सृजनशील समाजका संयोजक डाक्टर कृष्णहरि बुढाथोकीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे भने पूर्व विद्यार्थी समाजका सचिव अरुण अधिकारीले कार्यक्रम सञ्चालन गरे। विद्यालयका शिक्षक के.बी. श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत भाषणमार्फत हार्दिक स्वागत गरे ।
कार्यक्रमको अन्त्यमा, प्रधानाध्यापक श्री कुस प्रसाद दाहालले सृजनशील समाजका संयोजक डाक्टर कृष्णहरि बुढाथोकी र कार्यक्रमका सभापति घन नारायण श्रेष्ठलाई प्रमाणपत्र र खादाले सम्मान गरे। यस कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रेरणा प्रदान गर्नुका साथै पूर्व विद्यार्थी र समाजका सक्रिय सदस्यहरूबीचको आत्मीयतालाई थप सुदृढ बनाएको छ ।



