भाग्य चम्काउने महालक्ष्मी व्रत आरम्भ : यसरी गर्नुहोस् धन, सुख र वैभवको कामना

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आजदेखि १६ दिने लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । भाद्र शुक्ल अष्टमीका दिनदेखि सुरु भई आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक गरिने यो व्रत धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराई सुख, शान्ति र वैभव प्राप्त गर्ने उद्देश्यले मनाइन्छ । यस वर्ष यो व्रत भदौ २४ गते बुधबारसम्म जारी रहनेछ ।

यो व्रतका क्रममा भक्तजनहरूले कठोर नियमहरू पालना गर्नुपर्ने हुन्छ । ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने, प्रत्येक दिन एक छाक फलाहार (हविष्य भोजन) मात्र ग्रहण गर्ने र दिनमा एक पटक मात्र नुन खाने नियम रहेको छ । सोह्र दिनभरि हरेक बेलुका चन्द्रमालाई अर्घ्य दिने परम्परा छ । यसो गर्नाले धन, सम्पत्ति, वैभव प्राप्त हुने धार्मिक विश्वास छ । यो व्रत विशेष गरी नारीहरूले गर्ने गरेका छन्, जसले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश हुने र सुख, शान्ति मिल्ने धार्मिक मान्यता छ ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार, विभिन्न ग्रन्थमा साक्षात् भगवान् शङ्करले भगवती पार्वतीलाई यो व्रत विधिको बारेमा बताउनुभएको उल्लेख छ । यस व्रतको प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने र अलक्ष्मी (दुःख, दरिद्रता) नाश हुने विश्वास गरिन्छ ।

महालक्ष्मी व्रत विधिमा देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी ‘महालक्ष्मी अष्टकम्’ नामक स्तोत्र रचना गरेको कुरा उल्लेख छ । उपप्राध्यापक भट्टराईका अनुसार, बिहान, मध्याह्न र साँझ गरी तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख, वैभव प्राप्त हुनुका साथै शत्रुसमेत नाश हुने धार्मिक विश्वास छ ।

वैदिक परम्पराअनुसार, प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावस्या (दीपावली) गरी तीन पटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने प्रचलन छ । यसबाहेक, आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री