परराष्ट्रमन्त्री देउवा र मुख्यमन्त्री शाहको एउटै स्वर- सुदूरपश्चिममा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गरिएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संयुक्त रूपमा अन्तर्राष्ट्रिय समुदायलाई निधक्क भएर सुदूरपश्चिम प्रदेशमा लगानी गर्न आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको लगानी तथा विकास सम्मेलनसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री देउवाले प्रदेशमा लगानीका प्रशस्त सम्भावना रहेको र संघीय सरकार प्रदेशको विकासका लागि सधैं प्रतिबद्ध रहेको बताइन्। आफू पनि सुदूरपश्चिमको प्रतिनिधि भएकाले यस क्षेत्रको विकासमा सधैं सक्रिय रहने उनको भनाइ थियो।

मन्त्री देउवाले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा २२ वटा पुल निर्माण भएको स्मरण गराउँदै कांग्रेस अहिले पनि देश र प्रदेशको विकासका लागि लागिरहेको बताइन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई सुदूरपश्चिममा ढुक्क भएर लगानी गर्न आग्रह गरिन्।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा सीमित पूर्वाधार, न्यून लगानी र रोजगारीको सीमित अवसर जस्ता चुनौतीहरू भए पनि यी चुनौतीलाई अवसरमा बदल्न प्रदेश सरकार कटिबद्ध रहेको बताए। उनले वैकल्पिक सोच, साझेदारी र दिगो लगानीलाई प्राथमिकता दिएको र प्रदेशको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उजागर गर्ने प्रयासमा रहेको जानकारी दिए।

मुख्यमन्त्री शाहले निजी क्षेत्र र विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई बलियो बनाउँदै लगानी भित्र्याउने गरी प्रदेश सरकार लागिरहेको बताए। उनले आवश्यक नीति तथा संस्थागत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्ने र ठोस परियोजनाहरूलाई अगाडि बढाउने प्रदेश सरकारको दायित्व रहेको बताए। मंसिर १ र २ गते हुने सम्मेलनमा पूर्वाधार, पर्यटन, कृषि, औद्योगिक विकास, ऊर्जा, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रका प्राथमिक परियोजनाहरू प्रस्तुत गरिनेछ।

परराष्ट्र मन्त्रालयमा आयोजित यस कार्यक्रममा नेपालमा कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधि तथा विकास साझेदार संघ–संस्थाहरू र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो। उनीहरूले सुदूरपश्चिममा लगानी गर्न आफूहरू तयार रहेको भन्दै नीतिगत विषयमा जोड दिन सरकारलाई सुझाव दिएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री