इक्यानले मनायो २८ औं वार्षिकोत्सव, अग्रज व्यक्तित्वहरू सम्मानित

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले  आफ्नो २८ औं वार्षिकोत्सव राजधानीको र्‍याडिसन होटलमा एक विशेष समारोहका साथ भव्यताका साथ मनाएको छ । शैक्षिक परामर्श क्षेत्रमा नैतिकता, पारदर्शिता र गुणस्तरको वकालत गर्दै आएको इक्यानले दुई दशकभन्दा बढी समयदेखि विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि विश्वसनीय मार्गदर्शन प्रदान गर्दै आएको छ ।

वार्षिकोत्सव समारोहमा इक्यानसँग विगतमा आबद्ध रहेका पाँच जना वरिष्ठ व्यक्तित्वहरूलाई संघमा पुनः स्वागत गर्दै विशेष सम्मान गरिएको छ । इक्यानमा प्रवेश गर्नेहरूमा फेकनका पूर्व अध्यक्ष वसुदेव नेपाल, नेकाका पूर्व उपाध्यक्ष ज्ञानेन्द्र मान जोशी र पूर्व महासचिव राकेश श्रेष्ठ हुनुहुन्छ। यसैगरी, पूर्व इक्यान सदस्य भद्रबहादुर राई र पूर्व इक्यान सदस्य कृष्णनाथ शर्मालाई पनि संघमा पुनः प्रवेश गराइएको छ। कार्यक्रममा उपस्थित अतिथि तथा सदस्यहरूले उहाँहरूलाई हार्दिक स्वागत र सम्मान गरेका थिए।

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्ने शैक्षिक कन्सल्टेन्सीहरूको छाता सङ्गठनका रूपमा इक्यानले विगत २८ वर्षदेखि अतुलनीय भूमिका निर्वाह गर्दै आएको छ। यसले नेपाली विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट शैक्षिक गन्तव्यहरूसँग जोड्न र उनीहरूको उज्ज्वल भविष्यका लागि मार्गप्रशस्त गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

स्थापना दिवसको अवसरमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले सम्पूर्ण सदस्यहरू, शिक्षाविद्हरू, विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र सम्बन्धित सबै सरोकारवालाहरूमा हार्दिक आभार तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले आफ्नो सम्बोधनमा इक्यानले शैक्षिक परामर्शको क्षेत्रमा नैतिकता, पारदर्शिता र गुणस्तर कायम राख्न निरन्तर प्रयास गरिरहेको र आगामी दिनमा पनि यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समारोहमा शैक्षिक परामर्श क्षेत्रमा विद्यमान चुनौती र अवसरहरूबारे गम्भीर छलफल गरियो। सहभागीहरूले यस क्षेत्रलाई थप मर्यादित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा विचार विमर्श गरेका थिए। यस अवसरमा, शैक्षिक परामर्शको महत्व र यसले राष्ट्र निर्माणमा पुर्‍याउने योगदानबारे पनि प्रकाश पारिएको थियो।

इक्यानको २८ औं वार्षिकोत्सवले यसको लामो यात्रा, उपलब्धिहरू र भविष्यका प्रतिबद्धताहरूलाई पुनः स्मरण गराएको छ। आगामी दिनमा पनि इक्यानले नेपाली विद्यार्थीहरूको शैक्षिक सपना साकार पार्न र शैक्षिक परामर्श क्षेत्रलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री