काठमाडौं । नेपाली कफी ब्रान्ड हिमालयन जाभा अब विश्व बजारमा विस्तार हुने भएको छ । एनआईबीएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कम्पनीमा २८.८% को महत्वपूर्ण इक्विटी लगानी गरेको छ ।
यससम्बन्धी सम्झौतामा नक्सालमा आयोजित एक विशेष समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले हस्ताक्षर गरे । यो रणनीतिक साझेदारी नेपाली ब्रान्ड र मौलिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ।
प्रमुख कार्यकारी अधिकृत पाँडेले यस लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गरे । उनले भने, “हामी हिमालयन जाभालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न चाहन्छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता पनि हो ।”
हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको यो लगानीले वैश्विक बजारमा पुग्नका लागि थप आत्मबल प्रदान गरेको बताए । उनले भने, “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो । स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं ।”
यस साझेदारी तथा लगानीको मुख्य उद्देश्य हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्नु रहेको छ, जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै, नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन पनि यसले सहयोग पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले यो लगानी गरेको जनाएको छ ।
सन् १९९९ मा स्थापित हिमालयन जाभाले हाल नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीका ‘Gallery by Himalayan Java’ आउटलेटहरू सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको छ ।
एनआईबीएल इक्विटी पार्टनर्सले यो लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यातको सम्भावना बढ्ने र किसान, रोस्टर, बारिस्टा तथा फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैका लागि महत्वपूर्ण अवसर सिर्जना हुने अपेक्षा गरेको छ । यो साझेदारीले नेपाली कफी उद्योगलाई नयाँ उचाइमा पुर्याउने र अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।




