-
इ. अर्जुन पौडेल
त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग (IOE) को प्रवेश परीक्षाको नतिजा प्रकाशित भइसकेको छ। नयाँ शैक्षिक सत्रमा इन्जिनियरिङ्गमा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरूले कलेज चयन गर्दा धेरै महत्वपूर्ण पक्षहरूमाथि विचार पुर्याउनु आवश्यक हुन्छ। कलेज छनोट गर्दा निम्न बुँदाहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्छ।
१. नेपाल इन्जिनियरिङ्ग काउन्सिल (NEC) तथा विश्वविद्यालयबाट मान्यता प्राप्त कलेज:
इन्जिनियरिङ्ग अध्ययनका लागि अध्यापन गराउने कलेजले नेपाल इन्जिनियरिङ्ग काउन्सिल (NEC) तथा सम्बन्धित विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको हुनुपर्छ। मान्यता नभएका कलेजबाट इन्जिनियरिङ्ग पास गरेपछि इन्जिनियरिङ्ग लाइसेन्स प्राप्त गर्न समस्या आउन सक्छ। यसले तपाईंको भविष्यको करिअरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
२. स्थायी (Full-Time) प्राध्यापकहरूको उपलब्धता:
कलेजको शैक्षिक गुणस्तर निर्धारण गर्ने प्रमुख आधार भनेको त्यहाँ कार्यरत स्थायी प्राध्यापकहरूको संख्या हो। प्राध्यापकहरूको शैक्षिक योग्यता र अनुभवले शिक्षाको गुणस्तरमा ठूलो फरक पार्छ। ‘पार्ट टाइम’ (Part-time) शिक्षकमा मात्र भर पर्नुलाई सकारात्मक मान्न सकिँदैन। नेपाल इन्जिनियरिङ्ग काउन्सिल (NEC) को मापदण्ड अनुसार शिक्षक-विद्यार्थीको अनुपात (Ratio) १:१५ हुनुपर्दछ।
३. विद्यार्थीको नतिजा (Pass percentage):
कलेजमा अध्ययनरत विद्यार्थीहरूको सफलता दर (Pass percentage) कलेजको शैक्षिक गुणस्तरको महत्वपूर्ण सूचक हो। नियमित रूपमा उत्कृष्ट नतिजा ल्याएको कलेज नै गुणस्तरीय मानिन्छ। विगतका वर्षहरूमा कलेजले कस्तो नतिजा ल्याएको छ भन्ने तथ्याङ्क विद्यार्थी र अभिभावकका लागि निर्णायक हुन्छ।
४. अत्याधुनिक प्रयोगशाला र सुसज्जित पुस्तकालय (Lab and Library):
कलेजमा अत्याधुनिक उपकरण सहितको प्रयोगशाला हुन जरुरी छ। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा बुझ्न सहयोग गर्छ। पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तकहरू, जर्नल, रिसर्च मेटेरियल तथा डिजिटल स्रोतहरू उपलब्ध हुनुपर्छ।
५. अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (Research and Innovation Center):
इन्जिनियरिङ्ग शिक्षा दिने कलेजमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (Research and Innovation Center) अत्यन्त महत्वपूर्ण मानिन्छ। यसले इन्जिनियरिङ्ग पढ्दै गरेका विद्यार्थीहरूका लागि अनुसन्धान मैत्री वातावरण तयार गर्नुका साथै ‘इनोभेसन सेन्टर’ बाट नयाँ विचार (Concept), प्रोजेक्ट र स्टार्टअप विकासमा सहयोग मिल्छ।
६. पारदर्शी शुल्क संरचना र छात्रवृत्ति (Fee structure and Scholarship):
शुल्क संरचना पारदर्शी हुन जरुरी छ। कलेजले लिने ‘फी-स्ट्रक्चर’ मा इन्जिनियरिङ्ग अध्ययनको अवधिभर लाग्ने सबै शुल्क समावेश भएको छ वा छैन यकिन गर्नुपर्छ। साथै, उत्कृष्ट विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको विषयमा विद्यार्थी र अभिभावक जानकार हुनुपर्दछ।
७. पूर्व विद्यार्थीको सफलता (Alumni Success):
कलेजका अघिल्ला ब्याचका विद्यार्थी संख्या, पास प्रतिशत र इन्जिनियरिङ्ग अध्ययन सकेका विद्यार्थीहरू कुन विश्वविद्यालयबाट स्नातकोत्तर र विद्यावारिधी गरेका छन्, साथै सरकारी सेवा, मल्टिनेसनल कम्पनी जस्ता संस्थाहरूमा इन्जिनियरिङ्गको कुन स्तरको काम गरिरहेका छन्, त्यसले पनि कलेजले गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षामा योगदान गरेको कुरा प्रमाणित गर्दछ।
८. अतिरिक्त गतिविधि (Extra Curricular Activities):
कलेजमा एकेडेमिक क्लब (Academic Club) र सोसियल क्लब (Social Club) को संख्या र सक्रियताले विद्यार्थीको नेतृत्व क्षमता र ‘टिम वर्क’ (Team work) विकास गर्न मद्दत गर्छ। कलेजमा यस्ता क्लबहरूको सक्रियताले कलेजको समग्र नतिजामा सकारात्मक प्रभाव पार्दछ।
९. परामर्श इकाई (Guidance and Counselling Unit):
विद्यार्थीहरूलाई करिअर काउन्सिलिङ (Career Counselling) र मोटिभेसन (Motivation) को माध्यमबाट उनीहरूको समग्र विकासका लागि यस इकाईले सहयोग गर्दछ। इन्जिनियरिङ्ग अध्ययनका क्रममा विद्यार्थीले अनुभव गर्ने तनाव (Stress), चिन्ता (Anxiety) समाधान गर्नका साथै मनोवैज्ञानिक परामर्शका साथसाथै नियमित योग अभ्यास पनि निकै जरुरी मानिन्छ।
१०. प्लेसमेन्ट सेल (Placement Cell):
इन्जिनियरिङ्ग पढ्दै गरेका विद्यार्थीहरूलाई उद्योगसँग जोड्न इन्टर्नशिप (Internship) को व्यवस्था गर्न र इन्जिनियरिङ्ग शिक्षा सम्पन्न भएपछि रोजगारीका लागि विभिन्न उद्योग, कम्पनी र संस्थाहरूसँग सहकार्य गर्न ‘प्लेसमेन्ट सेल’ ले महत्वपूर्ण भूमिका खेल्छ। यो कलेजको निकै नै महत्वपूर्ण पक्ष हो।
प्रतिबद्ध कलेज परिवारको उदाहरण:
काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटी थुप्रै गुणस्तरीय कलेजहरूमध्ये एक हो। यस कलेजले हालसम्म करिब ५,००० इन्जिनियरहरू उत्पादन गरिसकेको छ। नेपाल लगायत धेरै देशमा यहाँबाट उत्पादित जनशक्तिले महत्वपूर्ण योगदान दिइरहेका छन्। प्रतिबद्ध व्यवस्थापन समिति, विषयगत विद्वत् सल्लाहकार समिति, कुशल प्रशासन, मेहनती र पूर्णकालीन प्राध्यापकहरू, सहयोगी कर्मचारी, अनुशासन र पढाइप्रति सचेत विद्यार्थी, तथा सन्तानप्रति ख्याल गर्ने अभिभावकको सक्रियताले कलेजको भौतिक र शैक्षिक स्तर विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको स्पष्ट देख्न सकिन्छ ।





