काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा माग धेरै परेकाले गोलाप्रथा मार्फत बाँडफाँड गरिएको हो।
बाँडफाँड अनुसार १९ हजार ५१४ जनाले प्रत्येकी १०–१० कित्ता र भाग्यमानी ५ जनाले थप १ कित्ता गरी ११–११ कित्ताका दरले शेयर पाएका छन्। यसअघि लघुवित्तले नेपाल राष्ट्र बैंकबाट जारी पुँजीको ४० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँ, अर्थात २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जारी गरिएको कुल शेयरमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको थियो। बाँकी १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
आईपीओको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, मेरो शेयर एप तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट, साथै कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ।




