काठमाडौँ । नेपालमा अब युवाको परिभाषा बदलिएको छ । सरकारले हालै स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति– २०८२’ ले युवाको उमेर १८ देखि ३५ वर्षसम्म कायम गरेको छ । यो परिवर्तनसँगै राष्ट्रिय युवा परिषद्ले नयाँ उमेर समूहअनुसार युवा जनसंख्याको तथ्याङ्क अद्यावधिक गर्ने तयारी गरेको छ ।
यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको थियो । तर, नयाँ नीतिले बालबालिकासम्बन्धी ऐनमा १८ वर्षसम्मकालाई बालबालिका मानिने व्यवस्था तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखेर १८–३५ वर्षलाई युवा उमेर मानेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । संयुक्त राष्ट्र संघले १५ देखि २४ वर्ष र भारतले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा मान्ने गरेको छ ।
नयाँ नीतिले युवाको उमेर परिवर्तन गरे पनि ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म कानूनी रुपमा भने १६ देखि ४० वर्ष नै कायम रहने उपाध्यक्ष बस्नेतले स्पष्ट पारेका छन् । उनले युवा नीतिअनुसार ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रत्येक पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भए पनि १० वर्षपछि मात्र यो नीति संशोधन भएको हो ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो । अब नयाँ नीतिअनुसारको १८ देखि ३५ वर्ष उमेर समूहको युवा जनसंख्या कति हुन्छ भन्ने तथ्याङ्क आउन बाँकी छ । यो परिवर्तनले युवा लक्षित कार्यक्रम र योजनाहरूमा समेत महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।




