नेपाल र भारतबीच सहमति : ढल्केवर र महेन्द्रनगरबाट इनर्जी बैंकिङ

नेपाल र भारतबीच सहमति ढल्केवर र महेन्द्रनगरबाट इनर्जी बैंकिङ

काठमाडौं । नेपाल–भारतबीच ढल्केवर र महेन्द्रनगर बिन्दुबाट इनर्जी बैंकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार सम्पन्न विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी)को १३औं बैठकमा उक्त सहमति भएको हो । पछिपछि अन्य धेरै बिन्दुबाट पनि इनर्जी बैंकिङ गरिने प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । शुरुआत भने ढल्केवर–मुजफ्फरपुर र महेन्द्रनगर–टनकपुर बिन्दुबाट गर्ने सहमति भएको बताए ।

नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो । ‘इनर्जी बैंकिङमा नेपाललाई ठूलो सफलता प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले यो नेपालको ऊर्जाक्षेत्रको ठूलो कोसेढुंगा भएको पनि बताए ।

बैठकमा नेपालतर्फको नेतृत्व गरेका घिसिङले गरेका थिए । बैठकमा दुई मुलुकका विद्युत् विक्रेतामार्फत इनर्जी बैंकिङ गर्ने सहमति भएको उनले जानकारी दिए । पीईसीको बैठकले इनर्जी बैंकिङको विधि र प्रारूप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिम रूप दिएको हो ।

उक्त मस्यौदा आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सह–सचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रूप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेयरिङ कमिटी–जेएससी’को बैठकले अनुमोदन गर्नेछ । यसअघि ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ले इनर्जी बैंकिङको विधि र प्रारूप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो ।

बैंकिङबाट आदान–प्रदानको परिमाण समान या फरक कायम गर्ने भन्ने विषय भने लेनदेन गर्ने पक्षहरूबीच तय हुने अधिकारीले बताए । ‘इनर्जी बैंकिङको अवधारणा अनुसार सामान्यतया एक युनिट दिएको सट्टामा एक युनिट नै पाउनुपर्ने हो,’ उनले भने, ‘तर, दुई तिरको माग र आपूर्तिको अवस्था अनुसार तत्कालीन समयमा दुवैतिरका लेनदेनकर्ताहरूले नै परिमाण तोक्नेछन् ।’

जनवरीमा हुने जेएससी बैठकले अनुमोदन गरेपछि इनर्जी बैंकिङका लागि औपचारिक रूपमा ढोका खुल्नेछ । ‘त्यसपछि नेपालले आफूसँग विद्युत् बढी भएका बेला जहिले पनि बैंकिङ गर्नसक्छ,’ प्रवक्ता अधिकारीले भने, ‘तर हाम्रो माग र उत्पादनको अवस्था हेर्दा माथिल्लो तामाकोशीको उत्पादन आएपछि मात्रै इनर्जी बैंकिङ गर्न सकिनेछ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री