काठमाडौं । हरितालिका तीजको रौनकताले देशभर छोपिरहँदा आज वैदिक सनातन परम्पराको महत्वपूर्ण पर्व ऋषि पञ्चमी पनि मनाइँदैछ । यी दुवै पर्वले नेपाली महिलाको जीवनमा गहिरो अर्थ राख्छन्, एकातर्फ तीजले पारिवारिक सुख र पतिको दीर्घायुको कामना बोक्छ भने, अर्कोतर्फ ऋषि पञ्चमीले महिलाको आत्मशुद्धि, स्वास्थ्य र सृष्टिको सम्मान गर्दछ ।
तर, यी पर्वहरूसँगै समाजमा भित्रिएका विकृति र महिला स्वास्थ्यबारेको संकुचित बुझाइले भने चिन्ता थपेको छ । काठमाडौं बस्दै आएकी कमला खड्काले तीजको माहोल निकै रमाइलो र उत्साहजनक रहेको बताइन् । तर, उनले तीजमा भित्रिएको ‘देखासिकी’ र ‘विकृति’ प्रति गहिरो चिन्ता व्यक्त गरेकी छन् । ‘तीजको माहोल अहिले एकदमै रमाइलो भइरहेको छ, एकदमै राम्रो भइरहेको छ,’ उनले भनिन्, ‘तर यसमा अलिकति विकृति पनि भित्रिरहेको जस्तो लाग्छ मलाई । किनभने, देखासिकी एकदम चलिरहेको छ ।’
खड्काका अनुसार, धनी वर्गका लागि यो देखासिकी सामान्य लागे पनि गरिब र विपन्न वर्गलाई यो हेर्नका लागि पनि नराम्रो लाग्ने गरेको छ । उनले धनी वर्गले पनि अलिकति नियन्त्रण गरिदिए राम्रो हुने धारणा राखिन् । नेपाली संस्कृतिमा तीजलाई अन्य चाडपर्वभन्दा अलि विशेष र भव्य रूपमा मनाइने गरेको खड्काले बताइन् । ‘तीज एकदमै संस्कृति अरू चाडपर्वभन्दा अलि मज्जाले मनाइन्छ,’ उनले भनिन्, ‘अरू चाडहरू चाहिँ अलि लोप हुँदै गएजस्तो लाग्छ ।’
ऋषि पञ्चमी: महिला स्वास्थ्य र महिनावारीको प्राचीन महत्व
आज भाद्र शुक्ल पञ्चमीका दिन महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) को पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । यस पर्वको इतिहास हजारौँ वर्ष पुरानो छ, र वेदिक सनातन परम्परामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यको महत्व पनि उत्तिकै पुरानो देखिन्छ । प्राचीनकालमा महिलाको महिनावारी अवस्थालाई चार देवीहरूको रूपमा व्याख्या गरिएको पाइन्छ: पहिलो दिन ‘चाण्डालिनी’, दोस्रो दिन ‘ब्रह्मघातिनी’, तेस्रो दिन ‘धोबिनी’ र चौथो दिन स्नान गरी शुद्धीकरण ।
आजको दिन महिलाहरू बिहान स्नान र दैनिक क्रियाकलापपछि ‘उपमार्ग’ नामक विशेष जडीबुटी प्रयोग गरी दाँत माझ्ने र चपाउने गर्छन् । नेपाली भूमिमा सजिलै पाइने यो वनस्पतिलाई संस्कृतमा रोगनाशक तत्व भनिन्छ, र महिलाहरू १०८ वटा उपमार्गका टुक्राहरू प्रयोग गर्छन् । त्यसपछि माटोले शरीर दल्ने चलन छ र नदी वा पोखरीमा स्नान गर्छन् । स्नानपछि, पञ्चभाग्य (दूध, दही, घ्यू, दुबो, कुश र गोरुको गोबर) लाई तामाको भाँडोमा राखेर एक-दुई थोपा सेवन गरिन्छ । यो पर्व महिलाको स्वास्थ्य, आत्मशुद्धि र शक्तिको सम्मान गर्ने एक पवित्र पर्व हो ।
तीज र ऋषि पञ्चमी जस्ता पर्वहरू केवल धार्मिक अनुष्ठान मात्र नभई महिलाको जीवन, स्वास्थ्य र सशक्तिकरणसँग जोडिएका महत्वपूर्ण सांस्कृतिक धरोहर हुन् । यी पर्वको मौलिकता जोगाउँदै, समाजमा व्याप्त कुरीति र गलत बुझाइलाई हटाउन सबै सरोकारवालाहरूको सामूहिक प्रयास अपरिहार्य छ । नारी शक्तिको सम्मान गर्दै, सकारात्मक परिवर्तनका लागि सबैले हातेमालो गर्नु आजको आवश्यकता हो ।




