काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले सभापति न्यौपानेलाई शपथ गराएका हुन् ।
सो अवसरमा सभामुख घिमिरेले खादा ओढाएर उनलाई बधाई ज्ञापन गर्दै समितिको जिम्मेवारी निष्पक्षता र प्रभावकारी ढंगले वहन गर्ने विश्वास व्यक्त गरे । शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक तथा सांसदहरूको उपस्थिति रहेको थियो ।
समितिको सभापति पदका लागि एकमात्र उम्मेदवार रहेकी न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् । यससँगै अब न्यौपानेले संसद्को महत्त्वपूर्ण स्थायी समितिमार्फत शासन प्रणाली, कानुनी संरचना र सार्वजनिक प्रशासनसम्बन्धी विषयमा नीति निर्माण तथा निगरानी भूमिकाको नेतृत्व गर्नेछिन् ।



