कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले पौडेललाई बैंकको सञ्चालक पदमा नियुक्त गरेसँगै आज बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

मन्त्रालयले पौडेलको सुदृढ व्यवस्थापकीय क्षमता र लामो व्यावसायिक अनुभवलाई मध्यनजर गर्दै कृषि विकास बैंकको सञ्चालकमा पठाएको जनाएको छ । पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्षभन्दा लामो अनुभव रहेको छ ।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धकका रूपमा समेत काम गरिसकेका पौडेलले निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकारका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थि ए। यसबाहेक, उनले चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पतालजस्ता प्रतिष्ठित संस्थाहरूको पनि सफलतापूर्वक नेतृत्व गरिसकेका छन् ।

वित्त तथा व्यवस्थापन परामर्शदाताका रूपमा देश तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका पौडेल हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई इनर्जी लिमिटेडका अध्यक्षसमेत रहेका छन् । उनको नियुक्तिले कृषि विकास बैंकको वित्तीय सुशासन र व्यावसायिक दक्षतामा थप सुधार आउने अपेक्षा गरिएको छ । पौडेलको अनुभवले बैंकलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री