रवि लामिछाने जेलमा सुरक्षित छैनन् : निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो पतिको जीवन कारागारमा सुरक्षित नभएको दाबी गरेकी छन् । श्रीमानको सुरक्षामा गम्भीर चिन्ता व्यक्त गर्दै उनले धरौटीमा रिहाइको मागसहित न्यायका लागि उच्च अदालत, बुटवलको ढोका ढकढक्याएको बताएकी छन् ।

पौडेलले मंगलबार आफ्नो सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै कारागार प्रशासन र सत्तापक्षको नियतमाथि गम्भीर प्रश्न उठाएकी हुन् । ‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन,’ उनले लेखेकी छन्, ‘भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहनु पर्दैन । यिनीहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहनु पर्दैन ।’

उनले झुटा मुद्दा लगाएर थुनिएको एक बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदको रोस्ट्रमबाट धम्की दिएको आरोप लगाउँदै यसले सत्ता र शक्तिको चरम दुरुपयोग पुष्टि गरेको बताएकी छन् । पौडेलले आफ्नो कानुनी लडाइँबारे स्पष्ट पार्दै बिगो बराबरको बैंक जमानत लिएर आफ्नो श्रीमानलाई जेलबाहिरबाटै मुद्दा लड्न दिन माग गरेकी छन् । ‘बिगो तोकिदेऊ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो,’ उनले लेखेकी छन् ।

आफ्नो न्यायको लडाइँ नरोकिने संकेत गर्दै उनले संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका सबै न्यायका ढोका ढकढक्याउने अठोट व्यक्त गरेकी छन् । उनले आफ्नो वक्तव्यमा श्रीमान् रविको भनाइ उद्धृत गर्दै लेखेकी छन्, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ ।’ तर एक पत्नीका रूपमा न्याय पाउने जिद्दी आफूमा रहेको उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री