काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आसन्न चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले न्यून ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कमा कर्जा उपलब्ध गराउने घोषणा गर्दै सेवाग्राहीका लागि विशेष सुविधा ल्याएको हो ।
बैंकद्वारा जारी विज्ञप्तिअनुसार, अब सेवाग्राहीले ६.३० प्रतिशतको सस्तो ब्याजदरमा घर कर्जा लिन सक्नेछन् । यो कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म निर्धारण गरिएको छ भने प्रशोधन शुल्क मात्र ०.२५ प्रतिशत लाग्नेछ । कर्जाको अवधि २० वर्षसम्मको हुने बैंकले जनाएको छ, जसले घर बनाउने वा खरिद गर्ने सपना बोकेकाहरूलाई ठूलो राहत मिल्ने देखिन्छ ।
त्यसैगरी, सवारी साधन खरिद गर्न चाहनेहरूका लागि पनि बैंकले विशेष सुविधा ल्याएको छ । वातावरणमैत्री विद्युतीय गाडी खरिदलाई प्रोत्साहन गर्दै बैंकले यस्तो कर्जामा केवल ६.१० प्रतिशत ब्याजदर तोकेको छ । पेट्रोल/डिजेलबाट चल्ने गाडीका लागि भने ६.८० प्रतिशत ब्याजदरमा कर्जा पाइनेछ । दुवै किसिमका सवारी कर्जाको अधिकतम सीमा एक करोड रुपैयाँसम्म रहेको छ भने प्रशोधन शुल्क ०.५० प्रतिशत र कर्जा अवधि सात वर्षको हुनेछ ।
बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले चाडपर्वको अवसरमा ग्राहकहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको जानकारी दिए । उनले भने, “यो सुविधाले हाम्रा ग्राहकहरूको चाडपर्वको खुसीलाई थप बढाउने विश्वास लिएका छौँ ।”
देशभरका सबै जिल्लामा फैलिएका ३१० शाखा कार्यालयमार्फत यो सुविधा सहजै लिन सकिने बैंकले जनाएको छ । पछिल्लो समय बैंकले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै वित्तीय पहुँच र दिगो बैंकिङमा जोड दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।




