काठमाडौं । रौतहटको गौरमा शनिबार राति सुटकेशभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ । उक्त शव माधव नारायण नगरपालिका-२, महादेवपट्टी माइतीघर भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
गौर नगरपालिका-९ स्थित गौर-सिरसिया सडकखण्डमा रहेको दिव्यज्योति स्कुल नजिकै शनिबार राति करिब ९ बजे स्थानीयले एउटा शंकास्पद सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले सुरक्षाको कारण देखाउँदै राति सुटकेश खोलेको थिएन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार, सम्भावित विस्फोटक पदार्थको आशंका र रातको समयमा अपर्याप्त प्रकाशका कारण घटनास्थललाई रातभर सुरक्षित राखेर आइतबार बिहान मात्रै सुटकेश खोलिएको थियो । ‘विस्फोटक पदार्थ हुन सक्ने आशंकासहित हामीले राति घटनास्थललाई पूर्ण रूपमा सुरक्षित राख्यौँ,’ डीएसपी कार्कीले भने, ‘आइतबार बिहान सेनाको बम डिस्पोजल टोलीलाई समेत साथमा लिएर मेरै कमान्डमा रहेको टोलीले सुटकेश खोल्दाभित्र शव फेला परेको हो ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, रुवीको घाँटी कसेर हत्या गरी शवलाई सुटकेशमा कोचिएको अनुमान गरिएको छ । यद्यपि, हत्या कसले र के कारणले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले मृतकका माइती पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको छ भने शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
भारतको मुजफ्फरपुरमा विवाह भएकी रुवी पछिल्लो समय आफ्नो माइतीघर महादेवपट्टीमै बस्दै आएको स्थानीयले बताएका छन् । उनको पतिसँगको सम्बन्धबारे भने विस्तृत जानकारी खुलिसकेको छैन ।




