काठमाडौं । समुदायस्तरमा फैलिएको हैजाको प्रकोपले महामारीको रूप लिन थालेपछि यसको नियन्त्रणका लागि संघीय सरकारले तत्काल कदम चालेको छ । खानेपानी मन्त्री प्रदीप यादव आफैं प्रभावित क्षेत्रमा खटिएर खानेपानी परीक्षण तथा शुद्धीकरण अभियानको नेतृत्व गरेका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको ‘मोबाइल भ्यान’ सहितको प्राविधिक टोलीले आइतबार बिहानदेखि वीरगञ्जका हैजा प्रभावित वडाहरूमा पानीको नमुना संकलन र परीक्षणलाई तीव्रता दिएको हो । प्रकोपको गम्भीरतालाई मध्यनजर गर्दै मन्त्री यादव स्वयं प्राविधिक टोलीसँगै प्रभावित क्षेत्रमा पुगेका हुन् । ‘आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा मसहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेको छ,’ मन्त्री यादवले भने, ‘प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।’
२९ अस्पतालमा
वीरगञ्जमा हैजाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, शनिबार रातिसम्म विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । विशेषगरी महानगरको वडा नम्बर ११, १२, १३ र १६ मा संक्रमणको प्रकोप बढी देखिएको छ ।
हैजाकै जस्तो लक्षण देखिएका दुई जनाको मृत्यु भइसकेको छ भने प्रकोप समुदायस्तरमा फैलिएपछि महानगरपालिकाले आइतबार र सोमबारका लागि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, इन्जिनियर रामकुमार श्रेष्ठले हैजा पुष्टि भएको क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली खटाइएको र थप आवश्यक सामग्री पनि तत्काल पठाइने व्यवस्था मिलाइएको जानकारी दिए ।




