बेवारिसे सुटकेसभित्र भेटियो महिलाको शव, एक सातामा तेस्रो घटना

काठमाडौं । रौतहटमा एक महिलाको हत्या गरी सुटकेशमा फ्याँकिएको अवस्थामा शव फेला परेको छ । जिल्ला सदरमुकाम गौर नगरपालिका-९ स्थित मुडवलवा गेट नजिकै सडक किनारमा भेटिएको बेवारिसे सुटकेशभित्र अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, शनिबार राति सडक किनारमा डोरीले बाँधिएको अवस्थामा एउटा सुटकेश बेवारिसे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी टोली घटनास्थल पुगे पनि राति नखोली सुरक्षा दिएर राखिएको थियो । आज बिहान जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन कार्की सहितको टोलीले सुटकेश खोल्दा भित्र शव भेटिएको हो ।

सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । ‘सुटकेशभित्र शवलाई कोचिएको अवस्थामा फेला पारिएको छ,’ उनले भने, ‘महिलाको पहिचान खुल्न सकेको छैन र घटनाको प्रकृति हेर्दा हत्या गरेर फ्याँकिएको देखिन्छ ।’

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाएको छ । घटनाको अनुसन्धानलाई तीव्र पार्दै प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज जाँच गरिरहेको छ । ‘हामी हत्याराको नजिक पुग्न हरसम्भव प्रयास गरिरहेका छौँ, अनुसन्धान जारी छ,’ डीएसपी कार्कीले भने ।

एक सातामा तीन शव
यो साता मात्रै जिल्लामा फेला परेको यो तेस्रो शव हो । यसअघि गौरकै नेपाल लजभित्र सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर-५ मा सहाबुदिन मियाँको छुरा प्रहार गरी हत्या गरिएको थियो । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री