काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा एक महत्वपूर्ण फड्को मार्दै सानिमा बैंक लिमिटेड र चीनको प्रतिष्ठित Export and Import Bank of China (CEXIM) बीच एक ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। चीनको सियामेनमा आयोजित एक विशेष समारोहमा दुई बैंकबीच सम्पन्न सम्झौता अनुसार सानिमा बैंकले नेपालका दुई ठूला जलविद्युत आयोजनाका लागि एजेन्ट बैंकको भूमिका निर्वाह गर्नेछ।
यो सम्झौताले कुल २५५ मेगावाट क्षमताका दुई महत्वपूर्ण आयोजना— मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि. (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि. (१२० मेगावाट)—को वित्तीय सहजीकरण तथा मध्यस्थताको ढोका खोलेको छ। यसले नेपालको ऊर्जा पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउन एक विश्वसनीय र सुगम माध्यम स्थापित गरेको छ।
CEXIM बैंकको सियामेन शाखामा आयोजित भव्य कार्यक्रममा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र CEXIM बैंकको सियामेन शाखाकी उपाध्यक्ष सुश्री लिउ फाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। उक्त समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, CEXIM बैंकका अध्यक्ष चेन रोङलिन तथा मुख्य लगानीकर्ता कम्पनी कुनमिङ इन्टरनेशनलका अध्यक्ष लि शेङ लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले आफ्नो बैंकलाई एजेन्टको रुपमा विश्वास गरेकोमा CEXIM बैंकप्रति हार्दिक आभार प्रकट गरे। “यो सहकार्यले हाम्रो अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउनेछ,” पाण्डेले भने, “यसले ऊर्जा, जलविद्युत र व्यापार पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने र नेपाललाई दिगो विकासको लक्ष्यतर्फ अघि बढाउन कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ।”
CEXIM बैंक तथा मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले पनि दुवै आयोजना तोकिएकै समयमा सम्पन्न गर्न पूर्ण सहजीकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे। उनीहरुले यी आयोजनाबाट प्राप्त हुने अनुभवले भविष्यमा अन्य ठूला परियोजनाहरुमा सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।
यस सम्झौताको सबैभन्दा उल्लेखनीय पक्ष भनेको आयोजनाका लागि हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा (RMB) मा अन्तरदेशीय कारोबारमार्फत नेपालमा लगानी भित्र्याइनु हो। यसले सानिमा बैंकको कार्यक्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साखलाई अभिवृद्धि गर्ने मात्र नभई देशको ऊर्जा उत्पादन, पूर्वाधार निर्माण र दिगो आर्थिक विकासमा समेत दूरगामी र सकारात्मक प्रभाव पार्ने निश्चित छ। यो कदमले नेपालको बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय वित्तीय मञ्चमा थप स्थापित गराएको छ।




