काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का उपाध्यक्ष, सिए आनन्द राज शर्मा वाग्ले, नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति सदस्यमा मनोनित भएका छन्। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार आयोजित एक विशेष कार्यक्रममा नवनियुक्त सदस्य वाग्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) मा भएको व्यवस्था अनुसार आइक्यानबाट एक जना प्रतिनिधि सेबोनको सदस्य रहने प्रावधान छ। सोही प्रावधान बमोजिम संस्थाको तर्फबाट वाग्लेले यो महत्वपूर्ण जिम्मेवारी सम्हालेका हुन्। शपथ ग्रहण कार्यक्रममा बोर्डका अन्य सदस्यहरू तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो र उनीहरूले नवनियुक्त सदस्य शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सिए वाग्ले लेखा व्यवसाय क्षेत्रमा एक अनुभवी र प्रतिष्ठित व्यावसायिक व्यक्तिका रूपमा चिनिन्छन्। उनी यसअघि पनि नेपाल एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान) को अध्यक्षको रूपमा आफ्नो सफल कार्यकाल पूरा गरिसकेका छन्। उनको व्यावसायिक दक्षता र अनुभवले धितोपत्र बजारको नियमन र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय नेपालको पुँजी बजारमा विभिन्न सुधारका प्रयासहरू भइरहेका छन्। यस्तो अवस्थामा लेखा व्यवसायको नियामक निकायबाट एक विशेषज्ञको प्रतिनिधित्वले बोर्डको निर्णय प्रक्रियामा थप सुझबुझ र पारदर्शिता ल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ। नवनियुक्त सदस्य वाग्लेको कार्यकालमा धितोपत्र बजारको विश्वसनीयता अभिवृद्धि गर्न र लगानीकर्ताहरूको हकहित संरक्षणमा थप बल पुग्ने आशा गरिएको छ।




