सुदूरका मन्त्री पालमाथि बालक हत्याको आरोप, प्रहरी भन्छ- ‘यो नियोजित भ्रम, वास्तविकता अर्कै छ’

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि दलित बालकको हत्या गरेको भन्दै लगाइएको आरोपले सामाजिक सञ्जालमा तरंग ल्याएको छ । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो पछिल्लो फेसबुक स्टाटसमा ‘प्रमाण’ भन्दै बैंकमा रकम जम्मा गरेको भौचरसहित मन्त्री पालले नै हत्या गरेको दाबी गरेपछि यो विषय थप जटिल बनेको हो । यद्यपि, प्रहरीले उक्त आरोपलाई पूर्णतः खारेज गर्दै घटनाको वास्तविकता बिल्कुल फरक रहेको बताएको छ ।

के छ फेसबुक स्टाटसमा ?
अभियन्ता सुनारले मन्त्री पाल, मृतक बालक किरण कोलीको तस्बिर र बैंक भौचरसहित एक आक्रामक स्टाटस पोस्ट गरेका छन् ।उनले लेखेका छन्, ‘बैतडीका किरण कोलिलाई दलित भएकै कारण सुदुर पश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले नै मारेका हुन् । घटना दबाउन ५ लाख जबर्जस्ति खाता हालेको प्रमाण यहाँ छ ।’
उनले थपेका छन्, ‘यो गलत भए म खगेन्द्र सुनारलाई कारबाही गर, हैन भने यो सामन्तीलाई कारबाही गर ।’ यति मात्र नभई, उनले स्थानीय प्रशासनलाई समेत घटना लुकाउन खोजेको आरोप लगाउँदै ‘घटना दबाउने सिडिओ र डिएसपीको पालो भोलि !’ भन्दै चेतावनी दिएका छन् । 

त्यसअघि उनले मन्त्री पालले ‘हिँड्ने साइतमा दलितले बाटो काटेको’ निहुँमा बैतडीका १३ वर्षीय किरण कोलीको गाडीले किचेर हत्या गरेको लेखेका थिए । उनले मन्त्री रक्सीले मातेको, गाडी मन्त्रीका छोराले चलाएको र घटना सार्वजनिक गरे पीडितकी आमालाई बलात्कारको धम्कीसमेत दिइएको जस्ता गम्भीर आरोप लगाएका थिए । यो स्टाटस सामाजिक सञ्जालमा भाइरल बन्दै हजारौँ पटक सेयर भएको थियो ।

प्रहरी र स्थानीय तहले गरेको तथ्यको खुलासा
सुनारले जसरी घटनालाई हत्या र जातीय विभेदसँग जोडेका छन्, प्रहरी अनुसन्धानले त्यसलाई ठाडै नकारेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानाभाटका अनुसार किरणको मृत्यु गाडी दुर्घटना वा हत्याबाट नभई करेन्ट लागेर भएको एक दुःखद दुर्घटना थियो । ‘साउन १७ गते डििलासैनी गाउँपालिका-३ मा बालुवा सङ्कलन गर्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लाग्दा १३ वर्षीय किरण कोली गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो,’ एसएसपी रानाभाटले भने, ‘यो घटनालाई हत्या भन्नु पूर्ण रूपमा गलत र भ्रामक छ ।’

सुनारले ‘घटना दबाउन दिएको प्रमाण’ भनेर पेस गरेको ५ लाख रुपैयाँको विषयमा पनि वास्तविकता फरक रहेको पाइएको छ । डिलासैनी गाउँपालिका-३ का वडाध्यक्ष रघुवीर बोहराले उक्त रकम मन्त्रीले नभई स्थानीय समुदायले पीडित परिवारलाई सहयोग गर्न सङ्कलन गरेको स्पष्ट पारेका छन् । ‘पहिले बुवा गुमाएको र अहिले छोरा पनि गुमाएको परिवारलाई राहत होस् भनेर हामी स्थानीयले उठाएर ५ लाख रुपैयाँ उनकी आमाको खातामा जम्मा गरिदिएका हौँ,’ वडाध्यक्ष बोहराले भने, ‘सहयोग रकमलाई हत्या लुकाउन दिएको भन्नु दुःखद हो ।’

कानुनी कारबाहीको तयारीमा मन्त्रीको सचिवालय
चरित्रहत्या गर्ने उद्देश्यले नियोजित रूपमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै मन्त्री पालको सचिवालयले कडा आपत्ति जनाएको छ । मन्त्रीका स्वकीय सचिव रमेश बहादुर बोहराले विज्ञप्ति जारी गर्दै सुनारको पछिल्लो स्टाटसले स्थानीय प्रशासनलाई समेत मुछेर भ्रम फैलाउन खोजेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक तथा जातीय सद्भावलाई खलबल्याउने उद्देश्यले यस्ता आधारहीन आरोप लगाइएको हाम्रो ठहर छ ।’ सचिवालयले घटना हुँदा मन्त्री पाल जिल्लामै नरहेको र असार २८ देखि धनगढी र काठमाडौंमा रहेको समेत स्पष्ट पारेको छ । सचिवालयले सुनारविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिँदै यस्ता भ्रामक हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री