काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले डिजिटल भुक्तानीलाई थप सहज र प्रभावकारी बनाउँदै आफ्नो ‘यूनीयनपे’ कार्डमार्फत नेपालका प्रमुख मोबाइल वालेटहरूमा सीधै रकम लोड गर्न सकिने सेवाको सुरुवात गरेको छ । यो नयाँ सुविधासँगै यूनीयनपे कार्ड प्रयोगकर्ताले अब सहजै इसेवा, खल्ती, हाम्रो पे जस्ता लोकप्रिय वालेटमा पैसा पठाउन सक्नेछन् ।
एससीटीका अनुसार, यो सेवा नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेसँग आबद्ध सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेसनहरूमा उपलब्ध हुनेछ । यसले यूनीयनपे कार्डको प्रयोगलाई परम्परागत पीओएस मेसिनको भुक्तानीमा मात्र सीमित नराखी डिजिटल कारोबारको दायरा फराकिलो बनाएको छ ।
यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो कार्डबाट वालेटमा रकम जम्मा गर्न मात्र नभई इ-कमर्स साइटमा सामान खरिद गर्न, हवाई टिकट काट्न तथा अन्य विभिन्न अनलाइन भुक्तानीहरू गर्न अझै सरल र सुरक्षित बनाएको छ ।
नेपालको डिजिटल भुक्तानी प्रणालीमा यो एक महत्वपूर्ण कदम मानिएको छ, जसले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै प्रयोगकर्ताहरूलाई भुक्तानीका लागि थप विकल्प र सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।




