काठमाडौँ । गहिरो आन्तरिक कलह र विवादकै बीच नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बसेको ४६ दिनमै कित्ता परिवर्तन गर्दै पुनः सत्ता पक्षको बेन्चमा फर्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले एकलौटी रूपमा संसदीय सचिवालयमा पत्र पठाएपछि पार्टी औपचारिक रूपमै सरकारको पक्षमा उभिएको हो ।
यो निर्णयले पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच चुलिएको विवादलाई थप सतहमा ल्याइदिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले असार २० गते संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षी बेन्चमा बस्ने निर्णय गरेको थियो । तर, डेढ महिना नबित्दै अध्यक्ष श्रेष्ठले पार्टीको यो निर्णय उल्ट्याएकी हुन् ।
आफ्नो कदमको बचाउ गर्दै अध्यक्ष श्रेष्ठले पार्टीका सांसदहरू नै प्रतिपक्षमा बस्न नचाहेकाले यस्तो निर्णय लिनुपरेको तर्क गरेकी छन् । “पार्टीका साथीहरू (सांसद) प्रतिपक्षमा बस्न नमानेपछि के गर्नु ? संसदमा जाने, हाजिर गर्ने र बाहिरिने काम मात्र भयो,” उनले भनिन्, “उहाँहरूको मनोभावना बुझ्दा सत्ता पक्षमै बस्न मन लागेको जस्तो देखेपछि मैले एक हप्ताअघि नै सचिवालयमा पत्र पठाएकी हुँ ।”
उनले संघीय सरकारका राज्यमन्त्री अरुण चौधरीको राजीनामा समेत प्रधानमन्त्री कार्यालयले स्वीकृत नगरेको र उनले पनि सम्पूर्ण सेवा-सुविधा लिइरहेको अवस्थाले पार्टी सत्ता पक्षमै रहन चाहेको संकेत मिलेको बताइन् ।




