सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन नाउपाले पठायो सभामुखलाई पत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रतिनिधिसभामा सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन आग्रह गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा पठाइएको पत्रबारे सभामुख घिमिरेले बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराएका हुन् । बैठकमा नाउपाका संसदीय दलका नेता गंगाराम चौधरी पनि सहभागी थिए ।

सभामुख घिमिरेले चौधरीलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरू कता बस्ने हो निक्र्यौल गर्नुस्, सत्ता पक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको छ ।’ सभामुखको भनाइपछि चौधरीले केही नबोली टाउको हल्लाएका थिए ।

यसअघि नाउपाले असार २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । त्यसपछि नाउपा प्रतिपक्षतर्फ सरेर बसेको थियो ।

तर पछिल्लो समय फेरि सत्ता समीकरणमा सक्रिय देखिएको नाउपा मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि सहभागी भएको थियो ।

प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद छन् । नयाँ पत्रबाट अब पार्टी सत्ता पक्षमा फर्किन चाहेको स्पष्ट संकेत देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री