वित्तीय प्रणालीमा पारदर्शितामा जोड दिँदै सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो AML/CFT तालिम

नगरकोट । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै नियामक निकायका निर्देशनहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी एक विशेष तालिम सम्पन्न गरेको छ । नगरकोटस्थित रमणीय रत्नागिरि रिसोर्टमा आयोजित उक्त तालिमले वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षालाई थप सुदृढ पार्नेमा जोड दिएको छ ।

कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख श्री सुबास भण्डारीले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी वित्तीय अपराधले बीमा क्षेत्रमा पार्न सक्ने सम्भावित असरहरूबारे सजग रहनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो । तालिमका क्रममा AML/CFT सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएका निर्देशिकाहरू र दैनिक कार्यसम्पादनमा अपनाउनुपर्ने व्यावहारिक पक्षहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिइएको थियो ।

उक्त कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईं तथा अन्य विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । यो तालिमले कर्मचारीहरूलाई गैरकानुनी वित्तीय कारोबार पहिचान गर्न र त्यसको रिपोर्टिङ संयन्त्रलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर १४३ वटा शाखाहरूमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले यस्ता तालिम कार्यक्रमहरूले आफ्ना कर्मचारीहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास, तथा नियम–कानुनको पालना गर्ने संस्कार विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ । बीमा व्यवसायमा पारदर्शिता र उत्तरदायित्व बढाउन यस्ता अभिमुखीकरण कार्यक्रमहरू आवश्यक रहेको कम्पनीको विश्वास छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री