काठमाडौं । नेपालको प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी, नाडा अटो शो २०२५ मा एमएडब्लु वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी, नामी भिगो ई-टू र नामी भिगो ई-टू प्लस, सार्वजनिक गरेको छ। गत वर्ष ह्याचब्याक सेग्मेन्टबाट बजारमा प्रवेश गरेको नामीले यस वर्ष कम्प्याक्ट एसयुभी ल्याएर प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याएको छ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्तले संयुक्त रूपमा यी गाडीहरू सार्वजनिक गरेका थिए। कम्पनीले नाडा अटो शोलाई लक्षित गरी विशेष अफरसहित नयाँ एसयुभीको बिक्री सुरु गरेको हो।
विशेष छुट र मूल्य
नाडा अटो शोको अवसरमा कम्पनीले दुवै मोडलमा आकर्षक छुट प्रदान गरेको छ। नामी भिगो ई-टूको नियमित बजार मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेकामा नाडा अफर अन्तर्गत यसलाई ३७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ। त्यसैगरी, नामी भिगो ई-टू प्लसको नियमित मूल्य ४१ लाख ९९ हजार रुपैयाँ भए पनि विशेष छुटपछि ४० लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ।
सेग्मेन्टमै पहिलो पटक उपलब्ध विशेषताहरु
एमएडब्लु वृद्धिका सीईओ प्रशन्न पन्तका अनुसार नामी भिगो ई-टू नेपाली सडक सुहाउँदो एसयुभी हो। यसमा ३-सी फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल १८ मिनेट मात्र लाग्छ। साथै, १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले खराब सडकमा पनि गाडीलाई सहजै पार गराउँछ।
यो एसयुभीमा “म्याजिक क्युब” प्लाटफर्म प्रयोग गरिएको छ र यसमा आफ्नो सेग्मेन्टमै पहिलो पटक एक्सटेरियर स्पिकर, म्युजिकसँग सिंक हुने ३६० डिग्री लाइट, वेलकम मेमोरी सिट र मल्टी-स्टेरिङ मोड जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।
ग्राहकको विश्वास जित्दै नामी
सीईओ पन्तले गत वर्ष बजारमा आएको नामीले छोटो समयमै ९०० भन्दा बढी ग्राहकको विश्वास जित्न सफल भएको र नेपालमा सबैभन्दा छिटो वृद्धि गरिरहेको ब्रान्ड बनेको बताए। उनले नाडा अटो शोमा रहेको स्टलमा आएर नयाँ एसयुभीको अवलोकन गर्न र विशेष अफरको लाभ उठाउन सबैलाई आग्रह गरेका छन्।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ। “गो फर मोर” भन्ने नाराका साथ आयोजना गरिएको यस पटकको शोमा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक सवारी र ४ वटा दुईपांग्रे ब्रान्डसहित १२५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको छ।




