जापान र कोरियाबाट रेमिट्यान्स भित्र्याउन नियो मनी र जेआरएफ रेमिटको सहकार्य

काठमाडौँ । जापान र दक्षिण कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन थप सहज र सुलभ हुने भएको छ । नेपालको स्थापित रेमिट्यान्स कम्पनी नियो मनी ट्रान्सफर र जापान तथा कोरियामा आधारित जेआरएफ रेमिटबीच रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्नका लागि औपचारिक साझेदारी भएको छ ।

यो सहकार्यसँगै अब जापान र कोरियामा रहेका लाखौँ नेपालीहरूले जेआरएफ रेमिटको विश्वसनीय अनलाइन सेवा प्रयोग गरी नियो मनी ट्रान्सफरमार्फत सोझै नेपालमा पैसा पठाउन सक्नेछन् । यो साझेदारीले विशेषगरी डिजिटल माध्यमबाट छिटो, छरितो र सुरक्षित रूपमा रकम पठाउने प्रक्रियालाई सरल बनाउने अपेक्षा गरिएको छ ।

यस नयाँ व्यवस्थाअनुसार, प्रेषकहरूले पठाएको रकम नेपालमा रहेका आफन्तहरूले विभिन्न माध्यमबाट प्राप्त गर्न सक्नेछन् । नियो मनी ट्रान्सफरमार्फत नेपालका कुनै पनि बैंकको खातामा सीधै रकम जम्मा गर्न, प्रचलित भुक्तानी सेवा प्रदायक (वालेट) मा पैसा लोड गर्न तथा देशभर फैलिएका एजेन्ट नेटवर्कमार्फत सहजै नगद भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

साझेदारीबारे बोल्दै नियो मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खनालले यो सहकार्यले रेमिट्यान्स सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘जेआरएफ रेमिटसँगको हाम्रो संयुक्त प्रयासले रकमको लेनदेनलाई पहिलेभन्दा छिटो र भरपर्दो बनाउनेछ । साथै, यसरी औपचारिक माध्यमको प्रयोगलाई बढावा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत पुग्नेमा हामी विश्वस्त छौँ ।’

पछिल्लो समय बजारमा आफ्नो उपस्थिति र सेवालाई आक्रामक रूपमा विस्तार गरिरहेको नियो मनी ट्रान्सफरले यो अन्तर्राष्ट्रिय साझेदारीमार्फत आफ्नो सेवालाई थप फराकिलो बनाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री