काठमाडौं । विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक इजी रेमिट र नेपालको अग्रणी मनी ट्रान्सफर कम्पनी नियो मनी ट्रान्सफरबीच एक महत्वपूर्ण भुक्तानी सम्झौता सम्पन्न भएको छ । यस साझेदारीले विदेशमा रहेका नेपालीहरूलाई छिटो, भरपर्दो र सुरक्षित माध्यमबाट नेपालमा पैसा पठाउने प्रक्रियालाई थप सहज बनाउने लक्ष्य राखेको छ ।
सम्झौता अनुसार, अब विश्वका विभिन्न मुलुकबाट इजी रेमिटको सञ्जाल प्रयोग गरी नियो मनी ट्रान्सफरमार्फत नेपालका कुनै पनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा तुरुन्तै रकम पठाउन सकिनेछ । यसका साथै, नियो मनी ट्रान्सफरका देशभर छरिएर रहेका १५,००० भन्दा बढी स्थानीय एजेन्टहरूमार्फत नगदमा पनि रकम सजिलै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यो सहकार्यले अनौपचारिक माध्यमबाट हुने कारोबारलाई निरुत्साहित गर्दै वैधानिक र सुरक्षित माध्यमबाट पैसा पठाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । इजी रेमिटको बृहत् अन्तर्राष्ट्रिय पहुँच र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालको एकीकरणले विप्रेषण भुक्तानीलाई अझै सुलभ, छिटो र प्रभावकारी बनाउने विश्वास दुवै कम्पनीले लिएका छन् ।
नियो मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सागर खनालले इजी रेमिटसँगको सहकार्यप्रति खुसी व्यक्त गरेका छन् । उनले भने, ‘इजी रेमिटसँग मिलेर अझ प्रभावकारी रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो । हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ र औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ ।’
यो साझेदारीले डिजिटल रेमिट्यान्सलाई समेत प्राथमिकता दिँदै नेपालमा वित्तीय पहुँच विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । विदेशमा रहेका लाखौं नेपालीहरूका लागि यो सम्झौताले आफ्नो कमाइ सुरक्षित रूपमा घरपरिवारसम्म पठाउन थप सहजता प्रदान गर्नेछ ।



