काठमाडौँ । पुँजी बजारमा लगानी गर्न चाहनेहरूका लागि एनआइसी एसिया क्यापिटलले एक नयाँ अवसर प्रस्तुत गरेको छ। क्यापिटलले बिहीबारदेखि ‘एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ नामक खुलामुखी (Open-Ended) म्युचुअल फन्ड योजनाको बिक्री खुला गरेको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५ करोड इकाई, अर्थात् ५० करोड रुपैयाँ बराबरको योजना सर्वसाधारणका लागि निष्कासन गरेको हो। कुल १० करोड इकाईको यस योजनामा कोष प्रवर्द्धक एनआइसी एसिया बैंकले बीज पुँजीबापत १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित राखेको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सार्वजनिक निष्कासनमा ल्याइएको हो।
लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। योजनाको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले नै गरेको छ।
लगानीकर्ताले भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन दिने समय भदौ १२ गतेसम्मका लागि लम्ब्याइने क्यापिटलले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’ को अनलाइन प्रणालीमार्फत सहजरुपमा आवेदन दिन सकिनेछ।
के हो खुलामुखी योजनाको विशेषता?
यो एक खुलामुखी योजना भएकाले यसको इकाई दोस्रो बजार (नेप्से) मा सूचीकृत हुने छैन। यसको अर्थ, लगानीकर्ताले साधारण सेयर वा बन्दमुखी योजनाको जस्तो सेयर बजारमा किनबेच गर्नु पर्दैन। बरु, आवश्यक परेको बेला सिधै योजना व्यवस्थापक, एनआइसी एसिया क्यापिटलबाटै, तोकिएको समयमा प्रचलित खुद सम्पत्ति मूल्य (Net Asset Value – NAV) मा इकाई खरिद-बिक्री गर्न सक्नेछन्। यसले लगानीमा सहज तरलता प्रदान गर्दछ।
यस प्रकारका म्युचुअल फन्डहरूले सेयर बजारमा प्रत्यक्ष लगानी गर्न समय वा विज्ञता नभएका साना लगानीकर्ताहरूका लागि व्यावसायिक व्यवस्थापनमार्फत आफ्नो बचत परिचालन गर्ने र जोखिम न्यूनीकरण गर्ने उत्तम विकल्प प्रदान गर्दछन्।




