काठमाडौं । रुपन्देही कारागारमा थुनामा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कोठामा रहेको झ्यालको प्लाइउड हटाएर जाली राखिएको छ । कारागार प्रशासनले लामिछानेको सुरक्षालाई मध्यनजर गर्दै उक्त परिवर्तन गरिएको जनाएको छ ।
चार महिनादेखि सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका लामिछानेलाई कारागारले प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको एक्लो कोठामा राखेको छ ।
उक्त कोठामा छुट्टै शौचालयको सुविधा रहेको र लामिछानेलाई टेलिफोन तथा आफन्तसँग भेटघाटको सुविधा निरन्तर उपलब्ध गराइएको पनि कारागारले जनाएको छ ।
कारागारका प्रशासकका अनुसार रुपन्देही कारागारको क्षमताभन्दा तीन गुणा बढी बन्दीहरू हाल रहेका छन् । २५० जनाको क्षमताको कारागारमा अहिले ६४० जना बन्दी राखिएको छ । यस्तो भीडभाडको अवस्थाका बीच पनि कानुनअनुसारका सेवा–सुविधा उपलब्ध गराइँदै आएको प्रशासनको दाबी छ ।
‘कारागारको भौतिक संरचना र स्रोतअनुसार सबै बन्दीलाई खानपान, आवास, हिँडडुल, अध्ययन, टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्ने, आफन्तसँग भेटघाट तथा टेलिफोनको सुविधा समान रूपमा उपलब्ध गराइएको छ,’ प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कारागार ऐन, २०७९ तथा नियमावली, २०२० बमोजिम अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिममा रहेका बन्दीलाई आवश्यक थप सुविधा दिन सकिने व्यवस्था छ । त्यस्ता सकारात्मक विभेद बाहेक अन्य कुनैपनि बन्दीबीच विभेद गरिएको छैन ।’




