काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको इम्पेरमेन्ट चार्जमा भएको वृद्धिका कारण खुद नाफामा असर परेको वित्तीय विवरणले देखाएको छ । बैंकको यस्तो चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि ३.६२ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ खर्ब २३ करोड ३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता ११.२९ प्रतिशत रहेको छ ।
१० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात ३.३५ प्रतिशत रहेको छ ।




