काठमाडौँ । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनले महत्त्वपूर्ण गति लिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले बिहीबार करिब १८० किलोमिटर लामो ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि दुई भारतीय कम्पनीसँग छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको छ । यो सम्झौतासँगै लामो समयदेखि चर्चामा रहेको एमसीसी परियोजनाको पूर्वाधार निर्माण कार्य औपचारिक रुपमा सुरु भएको छ ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा कुल १५ करोड ४५ लाख अमेरिकी डलर (करिब २१ अर्ब ६३ करोड नेपाली रुपैयाँ) बराबरको सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष र अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत रातमाटे–नयाँ दमौली खण्डको प्रसारण लाइन निर्माणको जिम्मा एञ्जेलिक–स्किपर संयुक्त उपक्रम (जेभी) ले पाएको छ । त्यस्तै, नयाँ दमौली–नयाँ बुटवल खण्ड निर्माणको जिम्मेवारी वाइबा–सलार संयुक्त उपक्रम (जेभी) लाई दिइएको छ । यी सम्झौता अन्तर्गत ठेकेदार कम्पनीहरूले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण र सञ्चालन लगायतका सम्पूर्ण काम गर्नेछन् । रातमाटे–नयाँ दमौली खण्डको लागत करिब ७ करोड ६० लाख अमेरिकी डलर छ भने नयाँ दमौली–नयाँ बुटवल खण्डको लागत ७ करोड ४० लाख अमेरिकी डलर रहेको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार ल्याउन तथा क्षेत्रीय विद्युत् व्यापार अभिवृद्धि गर्न नेपाली साझेदारहरूसँग मिलेर काम गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले यो महत्त्वपूर्ण उपलब्धिले नेपाल र अमेरिका सरकारको साझा प्रतिबद्धतालाई पुष्टि गरेको उल्लेख गरे ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार कुल ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये १८ किलोमिटरको सम्झौता गत वर्ष नै भइसकेको थियो । बिहीबार थप १८० किलोमिटरको सम्झौता भएसँगै अब ११७ किलोमिटर प्रसारण लाइनको ठेक्का सम्झौता हुन बाँकी छ, जुन केही दिनमै गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
“सम्झौताको प्रभावकारी मिति (इफेक्टिभ डेट) बाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ, यद्यपि ठेकेदार कम्पनीले त्योभन्दा अगाडि पनि काम सम्पन्न गर्न सक्छन्,” विष्टले भने, “यो सम्झौतासँगै अब निर्माण कार्य सुरु भयो भनेर बुझ्दा हुन्छ ।” एमसीसी कम्प्याक्ट १३ भदौ २०८० बाट कार्यान्वयनमा आएको हो, जसअनुसार सम्पूर्ण परियोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
यो विद्युत् प्रसारण आयोजनाले नेपालको राष्ट्रिय प्रसारण प्रणालीलाई सुदृढ बनाउने, विद्युत् चुहावट घटाउने र नेपालमा उत्पादित बिजुली आन्तरिक खपत तथा भारतसँगको विद्युत् व्यापारका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । परियोजना अन्तर्गत प्रसारण लाइनका अतिरिक्त नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासीको भूमहीमा तीन वटा ४०० केभी क्षमताका सबस्टेसन समेत निर्माण हुँदैछन् ।




