नेपाल बैंकको नाफा १३ हजार प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २५ रुपैयाँ

काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो वित्तीय प्रदर्शनमा चमत्कारिक सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षको सामान्य नाफाबाट फड्को मार्दै बैंकले खुद नाफामा १३,१७५ प्रतिशतको विशाल वृद्धि गरी ३ अर्ब ७७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

अघिल्लो वर्ष केवल २ करोड ८४ लाख रुपैयाँमा सीमित रहेको खुद नाफामा भएको यो ऐतिहासिक वृद्धिले बैंकको पुनरुत्थानलाई संकेत गर्दछ । यद्यपि, खुद नाफामा विशाल छलाङका बाबजुद वितरणयोग्य मुनाफा ऋणात्मक रहेकाले बैंकका लगानीकर्ताले यो वर्ष लाभांश नपाउने भएका छन् ।

मुख्य आम्दानीमा सुधार, सञ्चालन नाफा ६९२ प्रतिशतले बढ्यो

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको सुधारले नाफा बढाउन मुख्य भूमिका खेलेको छ । बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशतले वृद्धि भएर ११ अर्ब ९४ करोड रुपैयाँ नाघेको छ । फलस्वरूप, बैंकको सञ्चालन नाफामा ६९२ प्रतिशतको सानदार वृद्धि देखिई ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको समग्र नाफालाई उकास्न मद्दत गर्‍यो ।

खुद नाफा उच्च देखिए पनि बैंकको वितरणयोग्य नाफा भने ४४ करोड ९० लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो नोक्सान ९६ करोड ५० लाख रुपैयाँ थियो । वितरणयोग्य नाफा ऋणात्मक भएकै कारण बैंकले नियामकिय व्यवस्थाअनुसार सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा छैन । विगतका सञ्चित नोक्सान र जोखिम कोषहरूमा गरिएको व्यवस्थापनका कारण यस्तो अवस्था आएको हो ।

समीक्षा अवधिमा बैंकले आफ्नो मुख्य व्यवसायमा भने सन्तोषजनक वृद्धि गरेको छ । बैंकको निक्षेप संकलन १७.२८ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १३.८८ प्रतिशतले विस्तार भई २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानीमा उछाल

नाफामा भएको वृद्धिले बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष केवल ०.१९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २५.६८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.३५ गुणा रहेको छ ।

बैंकका वित्तीय सूचकहरू सकारात्मक रहँदा, खराब कर्जाको अनुपात भने केही बढेको छ, जसले सम्पत्तिको गुणस्तरमा चुनौती रहेको देखाउँछ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा बढेर ४.४७ प्रतिशत पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री