सिटिजन्स बैंकको दोहोरो सफलता: वित्तीय प्रदर्शन बलियो, प्रादेशिक नेतृत्व विकासमा जोड

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो व्यवसाय विस्तारमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमुख वित्तीय सूचकहरूमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । बैंकले आफ्नो प्रादेशिक कार्यसम्पादनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले नेतृत्व विकास कार्यक्रमलाई समेत तीव्रता दिएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, बैंकको कर्जा प्रवाह, निक्षेप संकलन र खुद ब्याज आम्दानी तीनवटै सूचक ११ प्रतिशतभन्दा बढीले बढेका छन् ।

विवरणअनुसार, बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यसैगरी, निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्षको तुलनामा करिब २२ अर्बले निक्षेप बढाउँदै बैंकले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।

बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी पनि ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकले आफ्नो कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशतमा सन्तुलित राखेको छ भने सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत रहेको जनाएको छ ।

व्यवसाय वृद्धिसँगै बैंकले संगठनात्मक क्षमता अभिवृद्धिमा पनि ध्यान केन्द्रित गरेको छ । यसै क्रममा, बैंकले मधेश प्रदेशका शाखा–प्रबन्धक र अन्य कर्मचारीहरूका लागि ‘मधेश लिडरसिपः ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स’ शीर्षकमा एक विशेष सेमिनार सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत उच्च व्यवस्थापनको उपस्थितिमा भएको उक्त कार्यक्रममा चालु आर्थिक वर्षका लागि स्थानीय प्राथमिकता निर्धारण गर्ने र केन्द्रीय तथा प्रादेशिक तहमा सहकार्य सुदृढ गर्ने विषयमा गहन छलफल भएको थियो । बैंकले यस्ता कार्यक्रमहरू क्रमशः अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्दै लैजाने योजना बनाएको विज्ञप्तिमार्फत जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री