प्रावधान घटाउँदा हिमालयन बैंकको नाफा २३ प्रतिशतले बढ्यो, तर खस्कियो खुद ब्याज आम्दानी

काठमाडौँ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो खुद नाफामा २२.७६ प्रतिशतको आकर्षक वृद्धि देखाएको छ । तर, बैंकको यो नाफा सञ्चालन आम्दानीमा भएको सुधारले नभई सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइने रकम (प्रोभिजन) मा भारी कटौतीका कारण बढेको देखिएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार, बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकको यस्तो नाफा १ अर्ब २३ करोड रुपैयाँ थियो ।

बैंकको वित्तीय स्वास्थ्यको मुख्य सूचक मानिने खुद ब्याज आम्दानी भने ९.९१ प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको छ । मुख्य व्यवसायबाट हुने आम्दानी घट्नुले बैंकको सञ्चालन अवस्थामा चुनौती रहेको सङ्केत गर्छ । तर, अघिल्लो वर्ष ५ अर्ब २६ करोड रुपैयाँ प्रोभिजन गरेको बैंकले गत वर्ष यसलाई घटाएर १ अर्ब ५३ करोडमा झारेपछि खुद नाफाको अङ्क माथि उक्लिएको हो ।

नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने निराशाजनक देखिएको छ । बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँले ऋणात्मक छ, जसका कारण बैंकले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्था देखिँदैन ।

यसैबीच, बैंकको खराब कर्जा (निष्क्रिय कर्जा) को अनुपातले पनि चिन्ताजनक अवस्था देखाएको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा बढेर ७.२८ प्रतिशत पुगेको छ । यसले बैंकको सम्पत्तिको गुणस्तर खस्किएको र कर्जा असुलीमा चुनौती थपिएको देखाउँछ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने ५ रुपैयाँ ७२ पैसाबाट बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ०७ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री