काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्दै आफ्नो सरकारलाई सुरक्षित गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६३ मत परेसँगै नयाँ सत्ता समीकरणले औपचारिक पूर्णता पाएको हो ।
प्रदेश सभाको मंगलबारको बैठकमा उपस्थित ९२ जना सांसदमध्ये बानियाँको प्रस्तावको विपक्षमा २२ मत परेको थियो भने ७ जना सांसद तटस्थ बसेका थिए । मतदानपछि सभामुखले प्रस्तावको पक्षमा खसेको मत प्रदेश सभाको बहुमत भएकाले मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ, नेकपा (एमाले) सँगको नयाँ सत्ता समीकरणअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ मत आवश्यक पर्नेमा, गठबन्धनले ६३ मतसहित सरकारको पक्षमा सहज बहुमत पुष्टि गरेको छ ।
यो मत परिणामसँगै बागमती प्रदेशमा केही समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भएको छ र वर्तमान सरकारलाई आफ्ना नीति तथा कार्यक्रमहरू अघि बढाउन मार्गप्रशस्त भएको छ ।




