- प्रेस काउन्सिलको प्रतिवेदन : धम्की र दुर्व्यवहारका घटना सर्वाधिक, एक पत्रकारको हत्या
काठमाडौँ । नेपालमा गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रताको अवस्था थप चुनौतीपूर्ण बनेको देखिएको छ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ (२०८१ असारदेखि २०८२ असार मसान्तसम्म) मा देशभर प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् ।
मङ्गलबार काउन्सिलले विज्ञप्तिमार्फत सार्वजनिक गरेको प्रतिवेदनले पत्रकारहरू सबैभन्दा बढी धम्की र दुर्व्यवहारबाट पीडित भएको देखाएको छ । काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिअनुसार, कुल घटनामध्ये सबैभन्दा बढी ४१ घटना धम्की र दुर्व्यवहारसँग सम्बन्धित छन् । यसैगरी, आक्रमण र कुटपिटका २२, पेसागत असुरक्षाका १३, समाचार सामग्री कब्जा वा अवरोधका ७ तथा पक्राउ र पक्राउ प्रयासका ७ घटना भएका छन् ।
प्रतिवेदनले यस अवधिमा एक पत्रकारको हत्या, दुईवटा नीतिगत बन्देज र एक जातीय विभेदको घटना भएको समेत उल्लेख गरेको छ, जसले प्रेस जगत्माथिको खतराको गम्भीरतालाई दर्शाउँछ ।
प्रदेशगत रूपमा हेर्दा संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा प्रेस स्वतन्त्रता हननका घटना सबैभन्दा बढी ३८ वटा भएका छन् । त्यसपछि मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशी प्रदेशमा ८-८, कर्णालीमा ७, गण्डकीमा ४ र लुम्बिनी प्रदेशमा ३ घटना भएको काउन्सिलको तथ्याङ्क छ । देश बाहिर पनि प्रेस स्वतन्त्रता हननको एक घटना भएको जनाइएको छ ।
लैङ्गिक आधारमा यी घटनाहरूबाट ९६ पुरुष र १० महिला गरी कुल १०६ जना पत्रकार पीडित भएको प्रतिवेदनमा उल्लेख छ । एउटै घटनामा एकभन्दा बढी व्यक्ति पीडित भएकाले पीडितको सङ्ख्या घटनाको भन्दा बढी हुन गएको काउन्सिलले स्पष्ट पारेको छ ।
यसका साथै, काउन्सिलले प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएको पनि जनाएको छ, जसमा बागमती प्रदेशमा ४, मधेस प्रदेशमा ३ र कर्णाली प्रदेशमा २ घटना भएका छन् । काउन्सिलले पत्रकार आचारसंहिताको पालनासँगै प्रेस स्वतन्त्रताको अवस्थाबारे नियमित अनुगमन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।



