काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही र कैलाली कारागारको अनुगमनपछि त्यहाँको अवस्था अत्यन्तै दयनीय रहेको निष्कर्ष निकालेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कोठालाई अस्वस्थकर ठहर गर्दै समग्र कारागारको अवस्था मानव अधिकारमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगकी सदस्य डा. लिली थापासहितको टोलीले गरेको अनुगमनमा सभापति लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठाको झ्याल प्लाइउडले बन्द गरिएको कारण हावा पास नहुने पाइएको छ । कोठासँगै खुला शौचालय रहनु र बाहिर हिँडडुल गर्नसमेत नदिनुले उनको स्वास्थ्यमा प्रतिकूल असर परेको आयोगको ठहर छ । अदालतले स्थानान्तरण गर्न आदेश दिए पनि कार्यान्वयन नभएको प्रति आयोगले ध्यानाकर्षण गराएको छ ।
रुपन्देही कारागार क्षमताभन्दा बढी कैदीबन्दीले भरिएको, ज्येष्ठ नागरिक र बिरामीका लागि छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नहुने र बेलाबेला सर्प छिर्ने जस्ता समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।





