काठमाडाैं । बागमती प्रदेशमा राजनीतिक स्थिरता र विकासको साझा संकल्पसहित नयाँ समीकरणको अध्याय सुरु भएको छ । सत्ता साझेदार दल नेकपा एमालेले मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको छ, जसले प्रदेशमा राजनीतिक स्थिरताको सन्देश प्रवाह गरेको छ ।
नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारलाई पूर्ण समर्थन रहेको घोषणा गर्दै आफ्नो पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न आग्रह गरे । उनले संविधानको रक्षा, राजनीतिक स्थिरता र सहमतिको आधारमा प्रदेश सरकार निर्माण गर्ने उद्देश्यले वर्तमान समीकरण बनेको स्पष्ट पारे ।
नेता थपलियाले आम जनताको चाहनाअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा प्रदेशको विकास निर्माण अभियानलाई तीव्रता दिन वर्तमान सरकार सक्षम हुने विश्वास व्यक्त गरे । उनले भने, “यो सरकारले जनताको अपेक्षा र जनचाहना अनुरूप कार्य गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”
उनले सरकार गठनको छोटो अवधिमै बाढी–पहिरो जस्ता विपद्का बेला सीमित स्रोतसाधनका बाबजुद सरकारको उपस्थिति जनताले महसुस गरेको दाबी गरे । पुनर्निर्माण र राहतमा सरकार प्रतिबद्ध भएर लागेको उनको भनाइ थियो ।
प्रदेश सरकारले अघि बढाएका महत्वपूर्ण कार्यहरूको चर्चा गर्दै थपलियाले प्रदेशको प्रशासनिक केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुगेको र भाषा ऐन कार्यान्वयनमा सरकार अघि बढेको बताए ।
यसैगरी, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दीर्घकालीन सोचसहित प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयनमा आउनु तथा प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीलाई कार्यान्वयनमा ल्याइनु सरकारका प्रमुख उपलब्धि भएको उनले उल्लेख गरे ।
नेपाली कांग्रेसका बानियाँ हालै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ, जहाँ कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । दुवै दलले मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । यो नयाँ समीकरणले प्रदेशमा बलियो र स्थिर सरकारमार्फत विकास र समृद्धिको नयाँ यात्रा तय गर्ने अपेक्षा गरिएको छ ।




