रास्वपामा जुटेन सहमति, अब उम्मेदवारको छिनोफानो प्राइमरी इलेक्सनबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार टुङ्गो लगाउन प्राइमरी (प्रारम्भिक) निर्वाचन गर्ने भएको छ । उम्मेदवारका लागि ९ जना आकांक्षी देखिएपछि साझा उम्मेदवार चयनका लागि गरिएको प्रयास असफल भएपछि पार्टीले निर्वाचनको बाटो रोजेको हो ।

साझा उम्मेदवार छनोट गर्ने उद्देश्यले रास्वपाले आइतबार आकांक्षी सबैसँग छलफल गरेको थियो । तर, छलफलमा सहभागी सबै ९ जनाले सर्वसम्मतिको सट्टा लोकतान्त्रिक प्रक्रियाअनुसार प्राइमरी निर्वाचनबाटै उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएपछि सहमतिको प्रयास टुङ्गिएको थियो ।

पार्टीले उम्मेदवारी फिर्ता लिनका लागि सोमबार साँझ ५ बजेसम्मको समयसीमा तोकेको थियो । उक्त समयसीमाभित्र कुनै पनि आकांक्षीले आफ्नो नाम फिर्ता नलिएपछि अब सबै ९ जना नै प्राइमरी निर्वाचनमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले अब छिट्टै ९ जनाकै नाम समावेश गरी प्रारम्भिक नामावली प्रकाशनको तयारी गरेको छ ।

यद्यपि, पार्टीका सहमहामन्त्री तथा रुपन्देही इन्चार्ज विपिन कुमार आचार्यले उम्मेदवारी फिर्ताको औपचारिक जानकारी निर्वाचन आयोगबाट प्राप्त भएपछि मात्र अन्तिम नामावली प्रकाशन गरिने बताए । उनले भने, ुआयोगले अन्तिम रिपोर्ट दिएपछि हामी प्रारम्भिक नामावली प्रकाशन गर्छौँ र निर्वाचनको प्रक्रिया अगाडि बढाउँछौँ ।ु

रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन खुला गरेको थियो, जसमा ९ जनाले २५ हजार रुपैयाँ दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए ।

यी हुन् प्राइमरी निर्वाचनमा भिड्ने ९ आकांक्षी:
प्राइमरी निर्वाचनमा होमिनेहरूमा सुलभ खरेल (बुटवल-१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर-७), डा. लेखजंग थापा (सिद्धार्थनगर-९), ज्ञानु पौड्याल (सिद्धार्थनगर-८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर-१), कुसुम महर्जन (सिद्धार्थनगर-८), रचना क्षेत्री (सिद्धार्थनगर-३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर-८) र मधुप्रसाद अर्याल (बुटवल-१७) रहेका छन् ।

२०७९ सालको आमनिर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधन भएपछि रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । यसपटक व्यवस्थित छनोट प्रक्रियामार्फत बलियो उम्मेदवार उठाएर परिणाम आफ्नो पक्षमा पार्ने रणनीति रास्वपाले लिएको देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री