काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२) का अवसरमा सम्पूर्ण नेपाली युवाहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रको भविष्य युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा निहित रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले युवाहरूको सकारात्मक सोच र निरन्तर प्रयासले मात्र देशलाई समृद्ध बनाउने संकल्प पूरा हुने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले फूलको सौन्दर्य र मुस्कान कोपिलामा लुकेको जस्तै, राष्ट्रको भविष्य पनि युवाहरूको शक्ति र सपनामा रहेको उल्लेख गरेका छन् । उनले भने, ‘हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ ।’
आफ्नो सन्देशमा प्रधानमन्त्रीले युवा दिवसको ऐतिहासिक महत्वलाई पनि स्मरण गरे । ‘सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो । पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो,’ ओलीले भनेका छन्, ‘यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ ।’




