गाडी खरिदमा दोहोरो फाइदा : २० लाखसम्म छुट, ४ वर्षयताकै सस्तो ब्याजदर, (कुन बैंकमा कति)

काठमाडौँ । न्यून ब्याजदर र सवारी बिक्रेताबीचको ‘प्राइस वार’ले गर्दा अहिले गाडी खरिदका लागि दुर्लभ अवसर सिर्जना भएको छ । एकातिर बैंकहरूले चार वर्षयताकै सस्तो ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् भने अर्कोतिर राजधानीमा जारी मोबिलिटी एक्स्पोमा कम्पनीहरूले २० लाख रुपैयाँसम्मको आकर्षक छुट उपलब्ध गराएका छन् ।

सवारी साधन बिक्रेताहरूको दुई छुट्टाछुट्टै संगठन बनेसँगै बजारमा बढेको प्रतिस्पर्धाको प्रत्यक्ष फाइदा ग्राहकले पाएका छन् । बुधबारबाट सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी ब्राण्डले नगद छुट, बीमा र अन्य उपहारसहितका अफरहरू सार्वजनिक गरेका छन् ।

चार वर्षयताकै सस्तो कर्जा

ग्राहकका लागि सबैभन्दा ठूलो राहत कर्जाको ब्याजदरमा भएको गिरावट हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, २०७९ माघमा १३.७२ प्रतिशत रहेको सवारी कर्जाको औसत ब्याजदर गत जेठमा घटेर ८.४७ प्रतिशतमा झरेको छ । यो असोज २०७८ (८.३६%) पछिकै सबैभन्दा न्यून हो । कुनै समय १६ प्रतिशतसम्म पुगेको ब्याजदर अहिले केही बैंकहरूले ६.५ प्रतिशतमा झारेका छन्, जसले गाडी खरिदलाई थप सहज बनाएको छ ।


कुन बैंकमा कति ब्याज?

एक्स्पोलाई लक्षित गर्दै बैंकहरूले आकर्षक अफर ल्याएका छन् । यहाँ केही प्रमुख बैंकहरूले प्रवाह गरिरहेको सवारी कर्जाको ब्याजदर छ:

  • नेपाल बैंक: करिब ६.१३% देखि ९.१३%

  • एभरेष्ट बैंक: ६.५२% (फ्लोटिङ) र ७% (स्थिर)

  • नेपाल एसबीआइ बैंक: ६.५४% देखि १२%

  • राष्ट्रिय वाणिज्य बैंक: करिब ६.६४% देखि ७.८९%

  • एनएमबी बैंक: करिब ६.७२% देखि १०.२२%

  • माछापुच्छ्रे बैंक: करिब ६.८०% देखि १०.३%

  • ग्लोबल आइएमई बैंक: करिब ७.२६% देखि ९.२६%

  • नबिल बैंक: करिब ७.५८% देखि ८.८३%

  • सानिमा बैंक: करिब ७.५०% देखि ८.५०%

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: करिब ६% देखि १०.२८%

  • कृषि विकास बैंक: करिब ८.३७%

  • सिद्धार्थ बैंक: करिब ९.३४% देखि ११.३५%

  • एनआइसी एसिया बैंक: करिब ९% सम्म

  • सिटिजन्स बैंक: ९.३५% सम्म

(नोट: ब्याजदर बैंकको आधार दर र प्रिमियममा हुने परिवर्तनअनुसार घटबढ हुन सक्छ ।)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री