पहिलो प्रयासमै ‘हिट’ भयो नाइमा एक्स्पो, अवलोकनकर्ता ओइरोले म्याद थपियो

काठमाडौं । काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ ले अपेक्षितभन्दा निकै उत्साहजनक दर्शक सहभागिता पाएको छ । अवलोकनकर्ताको बाक्लो भीड र बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले प्रदर्शनीको अवधि एक दिन थप गरेको छ ।

प्रदर्शनी सुरुमा पाँच दिन, अर्थात् साउन २१ देखि २५ गतेसम्मका लागि तोकिएको थियो । तर, अवलोकनकर्ताहरूको चाप र मागलाई छोटो समयमा सम्बोधन गर्न कठिन भएपछि अब एक्स्पो साउन २६ गतेसम्म सञ्चालन हुने नाइमाले जनाएको छ ।

एक्स्पोको आकर्षण यति देखियो कि शनिबारको मुसलधारे वर्षाले समेत अवलोकनकर्ताको उत्साहलाई रोक्न सकेन । आफूलाई मनपर्ने सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको घुइँचो निरन्तर लागिरहेको छ । विशेषगरी, साताभर कार्यालयको काममा व्यस्त रहनेहरूले शनिबारको दिनलाई एक्स्पो अवलोकनका लागि उपयोग गरेका थिए ।

आयोजकका अनुसार, प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र चौथो दिन (शनिबार) २१ हजार पाँच सयभन्दा बढीले अवलोकन गरेका छन् । चार दिनमै ७० हजारभन्दा बढी दर्शकको सहभागिताले एक्स्पोको सफलतालाई प्रमाणित गरेको छ । सर्वसाधारणका साथै कलाकार, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी र व्यवसायीहरूसहित समाजका विभिन्न तप्काका व्यक्तिहरूको उपस्थिति बाक्लो रहेको छ ।

स्थापनाको छोटो समयमै पहिलो पटक आयोजना गरिएको यस बृहत् प्रदर्शनीले पाएको समर्थनले आफूहरू उत्साहित भएको नाइमाले बताएको छ । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि भेला गराएको यस एक्स्पोले आगामी दिनमा नेपालको मोबिलिटी क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री