नवलपरासी । नेपालको सबैभन्दा ठूलो अण्डा उत्पादक कम्पनीहरू मध्येको एक, दाउन्ने एग्रो फार्म लिमिटेडले गत आर्थिक वर्षमा मुनाफामा उल्लेख्य वृद्धि गर्दै सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा जाने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाले १२ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो ।
कम्पनीका अध्यक्ष बिनोद पोखरेलले गत आर्थिक वर्षमा कम्पनीले ८ करोड १५ लाख ९० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिए । यो नाफा आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ करोड ६३ लाख ४७ हजार ८९७ रूपैयाँ नाफा कमाएको थियो ।
मुनाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि उत्कृष्ट सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रतिशेयर ३.६४ रूपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा यसलाई बढाएर १८.३७ रूपैयाँ पुर्याएको छ ।
बिक्री र सम्पत्तिमा पनि वृद्धि
कम्पनीको बिक्री र कूल सम्पत्तिमा पनि उत्साहजनक वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५२ करोड ४६ लाख ९० हजार ८७६ रूपैयाँ बराबरको पोल्ट्री उत्पादन बिक्री गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो बिक्री १ अर्ब २१ करोड ४२ लाख १९ हजार ७०१ रूपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पूँजी पनि २७ करोडबाट बढेर ५० करोड रूपैयाँ पुगेको छ भने कूल सम्पत्ति १ अर्ब ४० करोडबाट बढेर १ अर्ब ६६ करोड ९२ लाख ५४ हजार १७९ रूपैयाँ पुगेको छ ।
आईपीओ निष्काशनको तयारी पूरा
अध्यक्ष पोखरेलका अनुसार आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कानुनी प्रक्रियाहरू पूरा भइसकेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सिटिजन्स् क्यापिटलसँग सम्झौता भइसकेको छ । पोखरेलले दाउन्ने एग्रो फार्मलाई एक सफल सार्वजनिक कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष समेत हुन् ।
उत्पादन र भविष्यको लक्ष्य
कम्पनीले गत आर्थिक वर्षमा ५ लाख २९ हजार २५० पेटी (११ करोड ११ लाखभन्दा बढी) अण्डा उत्पादन गरी बिक्री गरेको थियो नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३, सर्दीमा करिब ११ बिघा क्षेत्रफलमा फैलिएको फार्ममा हाल चार लाख लेयर्स कुखुरा रहेका छन् । निकट भविष्यमै कुखुराको संख्या ६ लाख पुर्याउने र उत्पादन क्षमता बढाउने कम्पनीको लक्ष्य छ ।
२०७४ सालमा एक लाख कुखुराबाट व्यवसाय सुरु गरेको यस फार्मले जर्मन र मलेसियाबाट आयातित स्वचालित तथा अत्याधुनिक उपकरण प्रयोग गर्दै आएको संस्थापक अध्यक्ष रघुनाथ भट्टले बताए । कम्पनीले लेयर्स कुखुराको अण्डा, कुखुरा, क्रेट र मल उत्पादन तथा बिक्री गर्दै आएको छ ।
साधारण सभामा सञ्चालकहरू रघुनाथ भट्ट, हेमराज बडाल, विज्ञका रूपमा डा. अनन्त दाहाल, डा. आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे लगायतले पोल्ट्री व्यवसायको अवस्था र कम्पनीको भविष्यबारे बोलेका थिए ।



